August 9, 2022, Tuesday
२०७९ श्रावण २५, बुधबार
KN hd tv

सबैले चितवन रोजेका छन्, केही त लुकेको छ : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैको ध्यान चितवनमा केन्द्रित भएको बताएका छन्। सोमबार चितवनमा आयोजित ‘समृद्ध भरतपुरका लागि विकास बहस’ कार्यक्रममा सम्बोधन गर्दै उनले आफू जता गए पनि ‘अब चितवनमा के हुन्छ?’ भनेर सोधिने गरेको बताए। 

‘चितवनमा केही छ भन्ने कुरा हो नि त यो। चितवनतर्फको ध्यान त्यतिकै त भएको होइन नि। धेरै राजनीतिक दलहरुको क्रियाकलापको केन्द्रमा परेर पनि होला’, प्रचण्डको भनाइ थियो।

चितवनमा केही समयअघि नेकपा मालेले महाधिवेशन आयोजना गरेको थियो। एमालेको महाधिवेशन पनि यही मंसिर १० देखि १२ सम्म चितवनमै आयोजना हुँदैछ। प्रचण्डको निर्वाचन क्षेत्र चितवन नै भएकाले उनलाई राजनीतिक दबाब दिन एमालेले त्यहाँ महाधिवेशन आयोजना गरेको अड्कल गरिएको छ।

‘अहिले म कसैलाई आरोपित गरेर गाली गर्ने मुडमा छैन। त्यसो गर्नु उचित होइन। तर, सबैले चितवन नै रोज्ने भएको छ’, प्रचण्डको भनाइ थियो, ‘सबैले चितवन रोज्नेभित्र पनि ‘समथिङ इज हिडेन’। केही कुरा त लुकेको छ नि चितवनभित्र।’

प्रचण्डले सबैले चितवन नै रोज्नु आफूहरुका लागि गौरवकै कुरा भएको बताए। ‘हाम्रा मित्र हुन् या हाम्रा आलोचक। सबैका निम्ति चितवन भन्ने भएको छ। त्यसले तपाईं हाम्रो जिम्मेवारी बढाएको जस्तो लाग्छ’, उनले भने।

प्रचण्डले चितवनमा अस्थिरता सिर्जना गर्न खोज्ने र विकास निर्माण र समृद्धिको यात्रालाई ‘डिरेल’ गर्न खोज्ने प्रवृत्तिलाई परास्त गर्ने भन्नेमा चासो चिन्ता बढ्नुपर्ने बताए।

शीर्ष समाचार

धेरै पढिएको