December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार
KN hd tv

कर्मचारीले लगाए जानकी मेडिकल कलेजमा ताला

आन्दोलनरत कर्मचारीले जानकी मेडिकल कलेजमा तालाबन्दी गरेका छन्।

कलेज प्रशासनसँग भएको सम्झौता कार्यान्वयन गर्न दिएको १५ दिने अल्टिमेटमको म्याद सकिएपछि शैक्षिक क्रियाकलाप ठप्प पार्ने भन्दै कलेजको ‘साइन्स’ संकायतर्फ ताला लगाएका हुन्।

कलेजमा वर्षौदेखि भइरहेको अन्याय र श्रमशोषण समबन्धमा समबन्धित सबै निकायलाई पटकपटक अवगत गराइरहँदा समेत विगतमा भएका सम्झौताहरु कार्यन्वयन नभएकाले फेरि आन्दोलन गर्न बाध्य भएको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक कुल्दिप साहले बताए।

‘हामी एक वर्षसम्म रिले अनशन बस्यौँ तर कुनै सुनुवाई नभएपछि बाध्य भएर कलेजको पठनपाठन ठप्प गर्न लागेका हौँ। यदी कलेजले प्रशासनको बल लगाएर आन्दोलनमा हस्तेक्षप गर्यो भने आमरण अनशन बस्न बाध्य हुनेछौँ,’ उनले भने।

कर्मचारी, चिकित्सक र फ्याकल्टी र संचालकबीच तलबभत्ता, संचयकोष, दशैं खर्चलगायतबारे विभिन्न मितिहरुमा भएको सम्झौता कार्तिक ३० गतेभित्र कार्यन्वयन नभए मेडिकलको शैक्षिक लगायतका सम्पूर्ण क्रियाकलाप ठप्प पार्ने आन्दोलनरत कर्मचारीले चेतावनी दिएका थिए।

गत कार्तिक १४ मा आन्दोलनरत कर्मचारीले डिनको कार्यालय त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थान, चिकित्सा शिक्षा आयोग, श्रम कार्यालय जनकपुर र जिल्ला प्रशासन कार्यालय धनुषालाई माग पूरा नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी पत्र पठाएका थिए।

कलेज प्रशासन र कर्मचारीबीच ०७५ फागुन १४, ०७६ जेठ ८ र ०७७ भदौ ३१ गते, जिल्ला प्रहरी कार्यालय धनुषामा ०७७ मंसिर १३ गते भएको सम्झौता कलेजले कार्यन्वयन नगरेर अकारण कर्मचारी निष्कासित तथा स्पष्टीकरण काटिएको विरोधमा कलेजका कर्मचारीहरू कुल्दिप साह र जानकीशरण यादव आमरण अनशनसमेत बसेका थिए।

तर सम्झौता कार्यान्वयन गर्ने लिखित सहमतिपछि उनीहरुले अनशन तोडेका थिए। ती लिखित सम्झौता कार्यान्वयन गर्न कर्मचारीले माग गर्दै आएका हुन्।

शीर्ष समाचार

धेरै पढिएको