November 27, 2022, Sunday
२०७९ मंसिर ११, आईतवार
KN hd tv

‘विप्लव’ को बन्दले गाडी नचल्दा यात्रुलाई सास्ती

काठमाडौं- पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण आज (मंगलबार) बिहानैदेखि यात्रुले सास्ती पाएका छन् ।

विशेष गरी लामो दूरीबाट यात्रा गरेर काठमाडौं आएका यात्रुले बिहानै सास्ती भोगेका छन् । विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका यात्रु काठमाडौंका विभिन्न ठाउँमा अलपत्र परेका छन् । कलङ्की, नयाँ बसपार्क, बल्खु, कोटेश्वर लगायतका चोकमा झरेका यात्रुहरुले गन्तव्यमा जान सार्वजनिक गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् ।

यस्तै अत्यावश्यक कामले काठमाडौं बाहिर जानुपर्ने यात्रुहरु पनि चोकचोकमा अलपत्र परेका छन् । बाहिरी जिल्लाबाट हिजो छुटेका गाडी बिहानै काठमाण्डौ आइपुगे पनि काठमाडौंबाट छुट्ने गाडी भने नगण्य रहेका छन् ।

बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ । चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ । प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको संख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन् ।

काठमाडौं उपत्यकाबाट बाहिरिने गाडीहरू पनि निकै कम छन् । काठमाडौं उपत्यकाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् । तर ती पनि अघिल्ला दिनको तुलनामा कमै मात्र चलेका छन् । बन्दको क्रममा कुनै अप्रिय घटना नभएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । उनका अनुसार महाराजगञ्जबाट तीन जना र साँखुबाट दुई जना गरी पाँच जना बन्दकर्ता पक्राउ परेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको