November 30, 2022, Wednesday
२०७९ मंसिर १५, बिहीबार
KN hd tv

निर्वाचनमा एमालेलाई केन्द्रदेखि तलसम्म बढार्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा एमालेलाई बढार्ने उद्‌घोष गरेका गरेका छन्। 

प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले सत्तारुढ दललाई एक भएर एमालेसँग प्रतिस्पर्धा गर्न दिएको चेतावनीको प्रतिवाद गर्दै एमालेलाई पराजित गरेरै छाड्ने दाबी गरे।

मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘माथिदेखि तलसम्मको सबै चुनावमा नेकपा एमालेलाई बढार्ने हो। कुचो लगाएर बढार्ने हो।’

जनताले ‘सरकार चलाउ’ भनिदिँदा जोगाउन नसक्नेले ‘तिम्रो सरकार ढालिदिन्छु’ भन्दै हिँड्नुको औचित्य नरहेको उनले बताए। केन्द्रदेखि प्रदेशका सबै सरकार गुमिसक्दा ओलीको दम्भ कायम रहेकोप्रति उनले आश्चर्यता व्यक्त गरे। सिंगल सिंगल एमालेसँग लड्न आउ भन्ने ओलीको बोलीमा प्रतिवाद गर्दै थापाले भने, ‘एमाले एक्लै लडे थर्ड हुन्छ। कांग्रेस त अहिलेसम्म सिंगल सिंगल लडेको छ, २०४८ सालदेखि लड्दै आएको होइन?’

शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुपर्ने अवस्था कम्युनिस्टकै कारण आएको उनले बताए। ‘नेकपाले अवसर पाएको थियो, उसैले चलाउनुपर्ने हो’, उनले भने, ‘नेकपाले राम्रो गरेर गएको भए जनताले फेरि जिताइदिन्थे। १० वर्ष चलाउन पाउँथ्यो।’

एमाले पार्टी नभएर ओली प्राइभेट लिमिटेड भएको उनले आरोप लगाए। अहिलेको बेथितिको कारक ओली भएकाले ‘ओली प्राइभेट लिमिटेड दण्डित हुनैपर्ने’ उनको भनाइ छ। प्रधानन्यायधीशको नेतृत्वमा न्यायधीशहरु चल्न नसक्ने अवस्थाको कारक केपी ओली भएको उनको दाबी छ। 

भीम रावल र घनश्याम भुसाललाई पनि ओलीले निकादिने उनको आकलन छ। भीम रावलप्रति सहानुभूति राख्दै थापाले भने, ‘विचरा भीम रावल! यसो हेर्छु माया पनि लाग्छ।’ 

अर्ली इलेक्सन नहुने आश्वस्त पार्दै कार्यकर्तालाई भने, ‘तपाईंहरु कोही अलमल नपर्नु होला। हामीलाई अर्ली इलेक्सनका लागि संविधानले पनि दिँदैन। वैशाखमा स्थानीय निर्वाचन हुन्छ’, थापाले भने। 

शीर्ष समाचार

धेरै पढिएको