November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

जन्मजात दृष्टिविहीन डिन डु प्लेसिस कसरी बने क्रिकेट कमेन्टेटर?

काठमाडौं -जिम्बाब्बेका डिन डु प्लेसिस जन्मजात दृष्टिविहीन हुन्। ४० वर्षकै उमेरमा उनको अहिले सुन्ने क्षमता कम हुँदै गइरहेको छ। यो उनका लागि निकै चिन्ताको विषय हो। सुन्ने क्षमता गुमाउनु भनेको उनले आफ्नो करिअर गुमाउनु हो।

उनी विश्वकै पहिलो र अहिलेसम्मका एक मात्र दृष्टिविहीन क्रिकेट कमेन्टेटर हुन्। जिम्बाब्बेको क्रिकेटमा उनी कसरी सबैभन्दा परिचित स्वर बने भनेर व्याख्या गरिरहँदा उनी कहिल्यै थकित महसुस गर्दैनन्। उनले आफ्नो ‘कथा’को सुरुवात एउटा ‘पन्चिङ लाइन’बाट गरे।

स्टम्पमा राखिएका माइक्रोफोनहरु मेरो रोटी र मक्खन हुन्,’ डु प्लेसिसले भने।

उनले बोलेको यो वाक्यले उनी कसरी क्रिकेटको कमेन्ट्री गर्छन् भन्ने संकेत गर्छ। उनले भने, ‘जब तपाईं स्टम्पको माइकमा ध्यान दिनुहुन्छ, बलर क्रिजमा पुगेको र बलिङ गरेको सुन्नुहुन्छ। यी सबै फरक तरिकाले हुन्छ। उनीहरुले हातबाट बल छाड्दाको आवाज सुन्न सकिन्छ। ब्याट्स्म्यानको आवाज सुनेर उनीहरुले ‘नो’ अथवा ‘वेट’ भनेको आधारमा ती को हुन् चिन्न सकिन्छ।’

के स्टम्पको माइक सुनेर मैदानको गतिविधि थाहा पाउनु सजिलो हो? यो अप्ठ्यारो मात्र होइन, अकल्पनीय जस्तै हो। उनलाई भेटेपछि कतिपयले ट्विटरमा लेखेका छन्, ‘आठौँ आश्चर्य!’

डु प्लेसिसको जन्म जिम्बाब्बेको राजधानी हरारेमा भएको हो। उनले बाल्यकाल हरारेभन्दा १४२ किलोमिटर टाढा रहेको गृहनगर काडोमामा बिताए। 

उनी पढ्नका लागि छिमेकी देश दक्षिण अफ्रिकाको केप टाउन नजिकको शहर वोर्सेस्टरमा रहेको दृष्टिविहीनहरुको विद्यालयमा भर्ना भए। त्यहाँ हुँदा नै प्रसारण माध्यमतर्फ आकर्षित भएका थिए र जिम्बाब्बेको घरेलु क्रिकेटका धेरै कमेन्टेटरलाई आफ्नो आदर्श बनाएका थिए।

सुरुमा उनी क्रिकेटको रन थाहा पाउन दक्षिण अफ्रिकाबाट हरारे क्रिकेट क्लबमा फोन गर्थे। त्यसका लागि खाजा खाने पैसा बचाउँथे। अनि कल–बक्समा गएर सिक्का छिराउँदै फोन घुमाउँथे। त्यो समय जिम्बाब्बेले भर्खरै टेस्ट मान्यता पाएको थियो र भारतसँग प्रतिस्पर्धा गरिरहेको थियो।

पछि उनले रन थाहा पाउन रेडियो स्टेसनमा फोन गर्न थाले। पछि–पछि त रेडियोका कमेन्टेटरले डु प्लेसिसलाई आवाजबाटै चिन्न थालेका थिए। अनि सोध्थे, ‘के तिमी दक्षिण अफ्रिकाबाट फोन गरिरहेका छौ?’ उनी जिम्बाब्बेका पूर्व कप्तान डेभ होउघटोन लगायतलाई पनि फोन गरेर स्कोर सोध्न थाले। क्रिकेटबारे ज्ञान राख्दै गए। उनै दृष्टिविहीन डु प्लेसिसले एक दिन अन्तराष्ट्रिय क्रिकेटको रेडियो कमेन्ट्री गरे।

अन्तराष्ट्रिय खेलमा कमेन्ट्री
आफ्नो कमेन्ट्री करिअर भने एउटा ‘दुर्घटना’ भएको उनले उल्लेख गरेका छन्। उनी स्कुल जीवनपछि सन् १९९९ मा जिम्बाब्बे फर्किएका थिए। एउटा सिँचाइ कम्पनीका लागि ‘स्वीचबोर्ड’मा काम गर्थे। त्यति बेला श्रीलंका जिम्बाब्बे भ्रमणमा थियो। उनले त्यही मौकामा ख्यातिप्राप्त कमेन्टेटर रवि शास्त्रीलाई भेटे। कुनै पनि हल्ला नगर्ने वाचापछि उनलाई कमेन्ट्री बक्समा बस्ने अनुमति मिल्यो। केही कमेन्टेटरले उनीसँग गफ गर्न र प्रश्न गर्न सुरु गरे।

त्यसको दुई वर्षपछि सन् २००१ मा भारत फेरि जिम्बाब्बे भ्रमणमा आयो। जिम्बाब्बे, भारत र वेष्ट इन्डिजको एक दिवसीय अन्तराष्ट्रिय (ओडीआई) त्रिकोणात्मक श्रृङ्खला थियो। त्यही श्रृङ्खला डु प्लेसिसका लागि अवसर बन्यो। 

पहिलो खेल जिम्बाब्बे र वेष्ट इन्डिजबीचको थियो। चिया समयमा रवि शास्त्रीले उनीसँग अन्तरवार्ता लिए। त्यसपछि उनी प्रेस बक्समा नै बसे।

उनले पत्रकार नेल मोन्थार्पको आवाज स्कुले जीवनदेखि नै पहिचान गरेका थिए। उक्त खेलमा मोन्थार्प पनि क्रिकइन्फोका लागि रेडियो कमेन्ट्री गरिरहेका थिए। उनले मोन्थार्पसँग परिचय गरे। आफू पनि रेडियो कमेन्ट्री गर्न इच्छुक रहेको बताए। मोन्थार्पले लन्डनस्थित आफ्ना हाकिमलाई खबर पठाए।

जिम्बाब्बे र वेष्ट इन्डिजबीचको पहिलो खेलपछि कमेन्टेटर क्रेग विशर्टले रवि रामपालसँग मिडविकेटमा कुरा गर्न थाले। यता प्रेस बक्समा मान्थोर्पले डु प्लेसिसलाई भने, ‘भोलि तिमीले तिम्रो कमेन्ट्री डेब्यु गर्नेछौ।’ मोन्थार्पले लन्डनस्थित आफ्नो ‘बोस’बाट स्वीकृतिको इमेल पाइसकेका रहेछन्।

‘म त्यति बेला धेरै उत्साहित भएँ, मैले म योग्य छु भनेर मान्छेहरुलाई देखाउने अवसर पाएको थिएँ। म बिल्कुलै नर्भस थिइनँ। भोलिपल्ट कमेन्ट्रीको बेला पनि म आनन्द महसुस गरिरहेको थिएँ,’ २० वर्षअघिको त्यो दिन सम्झँदै डु प्लेसिसले भने, ‘कमेन्ट्री डेब्युको दिन अन्य कमेन्टेटरजस्तै म पनि केही कम बोलिरहेको थिएँ।’

उनको डेब्यु कमेन्ट्री खेलमा जिम्बाब्बे र भारत प्रतिस्पर्धामा थिए। उक्त खेलबाट भारतका चर्चित खेलाडी आशिष नेहराले एक दिवसीय अन्तराष्ट्रिय (ओडीआई) मा डेब्यु गरेका थिए। खेल जिम्बाब्बेले गुमायो। भारत चार विकेटले विजयी भएको थियो।

उनले २० वर्ष क्रिकेटको कमेन्ट्री गरिसकेका छन्। यद्यपि, उनको सबैभन्दा ठूलो सम्पत्ति रहेको त्यो असाधारण श्रवण शक्ति अब बिस्तारै कमजोर हुन थालेको छ। ‘इमान्दार भएर भन्नुपर्दा मेरो लागि यो धेरै चिन्ताजनक अवस्था हो,’ उनले भने, ‘म बेलाबेला एकदमै पीडादायी अवस्थामा पुग्छु। म सुन्ने यन्त्रहरु प्रयोग गर्न चाहन्छु, तर हरेक दिन तिनको प्रयोग गर्न सजिलो छैन। तिनको मूल्य चार हजार डलर छ, जुन मेरो लागि ठूलो रकम हो।’

तर, उनी आशावादी छन्। त्यो रकम पनि जुट्नसक्ने उनको विश्वास छ। ‘केही कुरा पनि असंभव छैन। आफूसँगै जन्मिएका दुई वटा ट्युमर हटाएर म ठीक भएको हुँ, त्यसरी नै त्यो रकम पनि कतैबाट जुट्नेछ,’ उनले भने।

सबैभन्दा ठूलो प्रशंसक बाबु र दाजु
उनका दाजु ग्यारी जिम्बाब्बेको क्लबबाट क्रिकेट खेल्थे। बाबु क्रिस पनि क्रिकेटलाई खूब मन पराउँथे। डु प्लेसिस सुरुवातमा उनीहरुकै प्रभावका कारण क्रिकेटतिर आकर्षित भएका थिए। ग्यारी सन् २००६ मा कार दुर्घटनामा परी परलोक भए। क्रिसको सन् २०२० मा निधन भयो।

बाबुको मृत्यु र श्रवण शक्ति गुमाउनु उनको जीवनको सबैभन्दा ठूलो आघात हुन्। ‘मेरो बुबा मेरो सबैभन्दा ठूलो सहयोगी र नम्बर एक प्रशंसक हुनुहुन्थ्यो। यो विश्वका कोही पनि त्यति नजिक हुन सक्दैनन्,’ उनले भने, ‘जिम्बाब्बेलाई प्रतिनिधित्व गर्न डेभ होउघटोन (पूर्वकप्तान) सबैभन्दा उत्तम खेलाडी भएकोमा हामी दुवै जना सहमत थियौँ।’

क्रिस गेलसँग अन्तरवार्ता गर्दै डु प्लेसिस। तस्बिर : क्रिकइन्फो

होउघटोन भर्खरै जिम्बाब्बेको कोचिङ म्यानेजर नियुक्त भएका छन्। उनी डु प्लेसिसको करिअरका एक जना ठूलो सहयोगी पनि हुन्। ‘म जब दक्षिण अफ्रिकामा हाम्रो होस्टेलको कल–बक्सबाट उनलाई कल गर्थेँ र दुःख दिन्थेँ, त्यही बेलादेखि एक–अर्कासँग नजिक थियौँ,’ उनले हाँस्दै भने। उनले क्रिकेटको स्कोर सोध्नका लागि यसरी लगातार फोन गरेर होउघटोनलाई दुःख दिन्थे।

डु प्लेसिसले नियमित फोन गर्दा सुरुमा त आफू खुसी हुन नसकेको होउघटोन बताउँछन्। ‘एउटा स्कुले केटोले लगातार फोन गरेर अनावश्यक कुरा गरिरहँदा पहिला त म खुसी हुन सक्दिन थिएँ। तर, डेभीले मलाई रमाइलो गरायो र ऊ मेरा लागि निकै दयालु भयो,’ होउघटोनले भने।

आफूले डु प्लेसिसलाई पहिलो पटक दाजुले क्रिकेट खेलेको बुवासँगै बसेर हेरिरहेको देखेको उनले बताए। होउघटोनले भने, ‘ऊ देख्न नसके पनि खेलप्रति ठूलो चासो राख्छ, ऊसँग क्रिकेटबारे अविश्वसनीय ज्ञान र बुझाइ छ। यसैले उसलाई खेलको योग्य समीक्षक बनाएको हो।’

हरारेका स्थानीय पत्रकार ब्रायन गोरडेमा पनि डु प्लेसिससँग अविश्वसनीय सम्झना शक्ति र ज्ञान भएको बताउँछन्। उनी भन्छन्, ‘म केही समयदेखि डिनलाई चिन्छु। ऊ आफूलाई कहिल्यै दुःखी ठान्दैन, यो नै उसको सबैभन्दा ठूलो गुण हो। ऊ आफ्नो दृष्टिविहीनताको रमाइलो पक्ष देख्न सक्छ। दुई दशकपछि पनि उसको वाकपटुता उस्तै छ, तर दुर्भाग्यवश उसको श्रवण शक्ति कमजोर हुन थालेको छ।’

सीमित अवसर, ओरालो यात्रा
डु प्लेसिस स्पष्ट वक्ता हुन्। उनले कतिपय समयमा राष्ट्रिय क्रिकेट संघको आलोचना पनि गर्थे। यही कारण संघले उनलाई कमेन्टेटर हुनबाट धेरै पटक रोक्यो। अन्तराष्ट्रिय खेलको घरेलु श्रृङ्खलामा कमेन्टेटर छान्ने अधिकार त्यही देशको संघलाई हुन्छ। आफूलाई आफ्नो प्रतिभा देखाउन संघले पर्याप्त मौका नदिएको उनी आफैँ पनि बताउँछन्।

जिम्बाब्बे क्रिकेटका अध्यक्ष ताभेङवा मुकुहलानीले डु प्लेसिसलाई जानीबुझी किनारामा नपारिएको बताए। ‘हामीले डिनसँग वर्षौँ काम गरेका छौँ र खेलमा उनको योगदान सराहनीय छ,’ मुकुहलानीले भने, ‘हामी युवा र अरु नयाँ आगन्तुकहरुलाई पनि मौका दिन चाहन्छौँ र तिनीहरु राम्रो पनि गरिरहेका छन्।’

कमेन्ट्री बक्समा पूर्वखेलाडी र प्रख्यात केमेन्टेटरहरु भन्दा बाहेक फरक पृष्ठभूमिका व्यक्तिलाई पनि समेट्नुपर्ने डु प्लेसिस बताउँछन्।

विगत चार वर्षमा उनलाई दुई वटा रेडियो स्टेसनले पूर्णकालीन रोजगारी दिए। त्यो यस्तो समय थियो, देशमा भएका केही गम्भीर घटनाहरुले रोजगारी सीमित भएका थिए। यद्यपि, उनले दुवै जागिर फरक कारणले छाडेका थिए। 

पछिल्लो १७ वर्ष यता जिम्बाब्बेको क्रिकेट ओरालो लागिरहेकोमा उनी चिन्तित छन्। सन् २००४ को घटनापछि जिम्बाब्बेको क्रिकेट फेरि उठ्न नसकेको उनको ठहर छ। ‘मलाई लाग्छ गोरा खेलाडीहरु र प्रशासक दुवैको जिम्बाब्बे क्रिकेटलाई ओरालो लगाउन समान भूमिका छ,’ उनले भने।

सन् २००४ मा तत्कालीन कप्तान हिथ स्ट्रिकलाई जिम्बाब्बे क्रिकेटले बर्खास्त गरेको थियो। उनले क्रिकेट संघको आलोचना गरेपछि बर्खास्तीमा परेका थिए। त्यस बेला गोरा र काला जातिका क्रिकेटरको खेमा छुट्टिएको थियो। हिथ स्ट्रिकलाई बर्खास्त गरेको विरोधमा उनीसहित १५ खेलाडीले राष्ट्रिय टिमबाट खेल्न अस्वीकार गरका थिए। 

त्यसपछि टटेन्द्र टाइबुलाई कप्तान नियुक्त गरिएको थियो। तर, त्यसपछि जिम्बाब्बे क्रिकेटको पुरानो साख गुमेको थियो।

शीर्ष समाचार

धेरै पढिएको