April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
KN hd tv

पृथ्वीको आकाशगङ्गाभन्दा बाहिर एउटा ग्रह फेला परेको संकेत

काठमाडौं-  खगोल शास्त्रीहरुले पृथ्वीको आकाशगङ्गाभन्दा बाहिर कुनै ग्रह भएको संकेत पहिलोपटक फेला पारेका छन्।

अहिलेसम्म सूर्यबाहेक अरू ताराको परिक्रमा गर्ने झन्डै ५ हजार वटा बाह्यग्रह फेला परेका छन्। तर ती सबै ‘मिल्कीवे’ भनिने पृथ्वी ग्रह पनि रहेको आकाशगङ्गामा छन्।

शनिग्रहको आकारको उक्त सम्भावित ग्रह मेसीअर ५१ नामक आकाशगङ्गामा छ। नासाको “चन्द्र एक्सरे टेलिस्कोप”ले उक्त खगोलीय पिण्ड फेला पारेको बीबीसीले जनाएको छ। उक्त पिण्ड मिल्कीवेबाट २.८ करोड प्रकाशवर्ष टाढा रहेको छ। 

खगोलपिण्डहरूको पारगमनका आधारमा उक्त पिण्ड ग्रह हुन सक्ने निष्कर्ष निकालिएको हो। पारगमनका बेला ताराअगाडि पुगेको ग्रहले ताराको प्रकाश छेकिदिन्छ।

डा. रोजेन डि स्टेफानो र उनका सहकर्मीहरूले ‘एक्स‍रे ब्राइट बाइनरी’ भनिने वस्तुबाट प्राप्त एक्सरेमा चमक घट्ने क्रम खोजि गरेका थिए। ती वस्तुमा विशेषगरी “न्यूट्रन स्टार” वा नजिकैको ताराबाट आफूतिर ग्यास तान्ने “ब्ल्याक होल” पर्छन्। न्यूट्रन स्टार वा ब्ल्याक होलनजिकै हुने तत्त्व निकै तात्छ र एक्सरेको तरङ्गदैर्ध्यमा चम्किन्छ।

उक्त टोलीले यही विधि प्रयोग गरेर एम५१-यूएलएस-१ नामक युग्मतारा प्रणालीमा अवस्थित उक्त सम्भावित बाह्यग्रह पत्ता लगाएको हो।

“हामीले विकसित गरेको र प्रयोग गरेको विधि मात्रै अन्य आकाशगङ्गामा ग्रह खोज्न अहिले प्रयोग गर्न सकिने विधि हो,” डा. डि स्टेफानोले भनिन्। उनी अमेरिकास्थित हार्भर्ड-स्मिथसोनिएन सेन्टर फर एस्ट्रोफिजिक्समा कार्यरत छिन्।

‘यो अद्वितीय विधि हो, किरणको वक्ररेखा मापन गर्न सकिने जुनसुकै दूरीमा भए पनि एक्सरे बाइनरीवरिपरि ग्रह खोज्न एकदमै सुहाउँदो’ उनले भनिन्।

शीर्ष समाचार

धेरै पढिएको