December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

‘धर्मनिरपेक्ष’ बंगलादेश किन भइरहेको छ अल्पसंख्यक हिन्दूमाथि आक्रमण?

बंगलादेशका हरेक हिन्दूलाई जस्तै बोनोलता दासलाई पनि मन्दिर सुरक्षित र पवित्र ठाउँ भएको विश्वास थियो।

कलेज पढिरहेको आफ्नो २१ वर्षको छोरा प्रान्तचन्द्र दास गत हप्ता बंगलादेशको दक्षिण–पुर्वी जिल्ला नोअखलीमा रहेको मन्दिरको कम्प्लेक्समा बस्न जाँदा उनलाई कुनै चिन्ता थिएन। तर, सोचेजस्तो भएन। प्रान्तलाई मुस्लिम बाहुल्य देशका अतिवादीहरुले मृत्युको मुखमा पुग्ने गरी कुटपिट गरे।

‘मेरो सानो छोरो मेरो मुटु थियो। उसको मृत्युपछि मैले मेरो मुटु गुमाएको छु। मैले सबै थोक गुमाएको छु,’ उनले रुँदै भनिन्।

हिन्दूहरुको धार्मिक पर्व दुर्गा पुजाको अवसरमा कोमिल्ला शहरमा स्थापना भएको मण्डपमा कुरानको अपमान भएको हल्ला चलेपछि बंगलादेशमा हिंसा भड्किएको थियो। प्रान्तचन्द्र त्यही हिंसाको सिकार भएका थिए।

दुर्गा पूजामा कुरानको अपमान भएको सामाजिक सञ्जालमार्फत हल्ला फैलिएको केही घण्टापछि नै सयौं मुस्लिम कट्टरपन्थीहरुले कोमिल्ला शहरमा रहेको हिन्दूहरुको धार्मिक मण्डपमा आक्रमण गरेका थिए। त्यहाँ मन्दिरहरु भत्काइएका थिए। हिन्दू समूदायका सयौं घर तथा पसलहरुमा आगो लगाइएको थियो। उक्त हिंसामा दुई हिन्दूसहित सात जनाको मृत्यु भयो भने कयौँ घाइते भए। प्रहरीले विभिन्न ठाउँमा टियर ग्यास र हवाइ फायर गरेर भिडलाई नियन्त्रण गर्ने प्रयास गरेको थियो।

नोअखलीमा रहेको मन्दिर

‘इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सियसनेस’ (इस्ककन)ले सञ्चालन गरिरहेको मन्दिरमा भएको हमलाबारे थाहा पाउने बित्तिकै दास र उनको परिवारले छोराको खोजी गरेका थिए। तर, उनीहरुको छोराको शव भोलिपल्ट नजिकैको तालमा भेटियो। उनको शरिरभरि चोट थियो। ‘अझै हमला हुन्छ भन्ने त्रासले हामी हाम्रो घर जान पनि डराएका छौं’, दास भन्छिन्, ‘अहिले हामी यही मन्दिरमा बसिरहेका छौं’

१६ करोड ५० लाखभन्दा धेरै जनसंख्या रहेको बंगलादेशमा हिन्दूको संख्या केवल नौ प्रतिशत छ। विगतमा पनि धार्मिक अल्पसंख्यकहरुमाथि आक्रमण हुने गरेको थियो। तर, यस पटक भएको हमला बंगलादेशको इतिहासमै सबैभन्दा ठूलो रुपको भएको बताइएको छ।

‘हिन्दू समुदायमाथि पूर्वतयारीसहित हमला भएको छ,’ कोमिल्ला शहरमा हिन्दूको चाड मनाउने समूहकी प्रमुख अचिन्ता दास भन्छिन्। उनी कुरानजस्तो धार्मिक किताबलाई हिन्दूले अपमान गरेको कुरालाई अस्वीकार गर्छिन्।

मन्दिरमा हमला भएको एक दिनपछि प्रधानमन्त्री शेख हसिनाले आपत्ति जनाउँदै आक्रमणमा संलग्नहरुलाई पक्राउ गरिने बताएकी थिइन्। ‘अपराधिहरु पक्राउ गर्नैपर्छ। हामीले विगतमा पनि त्यस्तै गरेका थियौं र भविष्यमा पनि त्यस्तै गर्छौ’, उनले भनिन्, ‘उनीहरुले आवश्यक सजाय पाउनुपर्छ।’

तर, प्रधानमन्त्रीको चेतावनी विपरीत बंगलादेशका अन्य भागमा पनि दंगा सुरु भयो। अल्पसंख्यक समुदायमा डर फैलिन थाल्यो। एक समय त सरकारले २२ जिल्लामा सुरक्षा कर्मचारीहरुलाई दंगा नियन्त्रणका लागि खटाएको थियो।

हिंसा सुरु भएको करिब एक हप्तापछि सामाजिक सञ्जालमा ‘हिन्दूहरुले इस्लामको धार्मिक ठाउँको अपमान गरेको’ दाबी गर्ने पोस्ट फैलाइए। त्यसपछि उत्तरी बंगालदेशमा फेरि दर्जनौं हिन्दूहरुको घरमा आगजनी गरियो।

‘जब हामीले भिड हामीतर्फ आइरहेको थाहा पायौं, दुई बच्चाहरुलाई लिएर म आफू र बच्चलाई बचाउन धान बारीमा लुक्न गएँ,’ रंगपुर जिल्लाको वीरगञ्जकी नन्दा रानी भन्छिन्, ‘हामी लुकेको ठाउँबाट उनीहरुले हाम्रो घर जलाएको प्रष्ट देखिएको थियो। घर पूर्ण रुपमा जल्यो। हामी अहिले पालमा बसिरहेका छौं।’

बंगलादेशका गृहमन्त्री अशदुज्जमान खानले सयौं मानिसलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको बताएका छन्। उनले सञ्चारमाध्यमलाई बताएअनुसार कतिपय मानिसले भ्रममा पार्न विगतका विभिन्न समयमा देशका विभिन्न ठाउँमा भएका क्रुर घटनाका भिडियो फुटेजहरु सामाजिक सञ्जालमा राखेर अफवाह फैलाएका छन्।

यता, इस्लामिक अभियानका नेतृत्वकर्ताहरुले पनि अल्पसंख्यकमाथिको कुनै पनि किसिमको हिंसाको विरुद्धमा रहेको बताएका छन्। ‘मन्दिरमाथि हमला गर्नेहरुलाई सजाय हुनुपर्छ। हामी सबै शान्ति र सद्धभावका साथ बस्नुपर्छ’, इस्लामिक पार्टी बंगलादेश खिलाफत आन्दोलनका उप–प्रमुख मौलाना मुजिबर रेहमान हमिदीले भनेका छन्।

तर, हमिदीसहितका अन्य मुस्लिम नेताहरुले पनि इस्लामको अपमान गरेकाहरुलाई भने कडाभन्दा कडा सजाय हुनुपर्ने बताइरहेका छन्।

बंगलादेश सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएलदेखि नै धर्म निरपेक्ष राज्यको रुपमा रहेको छ। संविधानले इस्लामलाई ‘राज्यको धर्म’ भने पनि धर्म निरपेक्षताको सिद्धान्तलाई पनि समर्थन गरेको छ।

तर, विश्लेषकहरुका अनुसार वर्षौँदेखि बंगलादेशमा कट्टर इस्लामिक समूहहरुले महत्व पाइरहेका छन्। सन् २००८ यता सत्तामा रहेको अवामी लिगले धार्मिक असहिष्णुता र कट्टरपन्थीहरुलाई सम्बोधन र नियन्त्रण गर्न असफल भएको छ।

‘सरकारले राजनीतिक लाभका लागि कट्टरपन्थीहरुसँग सम्झौता गरेको छ, विशेषगरी लोकतान्त्रिक नीतिका लागि यो कालो धब्बा हो,’ चर्चित अर्थशास्त्री बेदप्रिया भट्टचार्य भन्छन्, ‘जसको परिणामस्वरुप कट्टरपन्थीहरुले नै महत्व, पहिचान र प्रभाव बनाएका छन्।’

यो उपमहाद्विपमा धार्मिक हिंसाको लामो इतिहास छ। सन् १९४७ मा ब्रिटिस इण्डियालाई छुट्याएर हिन्दूको बाहुल्य रहेको भारत र मुस्लिमको बाहुल्य रहेको पाकिस्तान बनाइएको थियो। सन् १९७१ मा बंगलादेश, त्यति बेलाको पूर्वी पास्कितानले, रक्तपातपूर्ण लामो युद्धपछि पाकिस्तानबाट स्वतन्त्रता पाएको थियो। भारतले बंगलादेशको स्वतन्त्रताको लडाइँमा सहायताका लागि सेना पठाएको थियो।

त्यो विभाजनको छायाँ अझैं पनि दक्षिण एसियामा देखिन्छ। ‘बंगलादेशमा दशकौंदेखि हिन्दू समुदायमाथि व्यवस्थित आक्रमण भइरहेको छ,’ बंगलादेशको हिन्दू, बौद्ध र क्रिश्चियन एकता परिषद्का महासचिव राना दासगुप्ता भन्छन्, ‘श्रृङ्खलाबद्ध रुपमा हिन्दूहरुको घर र जग्गा हडप्ने र उनीहरुलाई देश छाड्न बाध्य बनाउने घटना भइरहेका छन्।’

हिन्दू समुदायका नेताहरु सन् १९४७ मा बंगलादेशमा ३० प्रतिशत रहेको र पलायनकै कारण अहिले नौ प्रतिशतमा झरेको दासगुप्ता बताउँछन्। धेरै जसो हिन्दू समूदायका मानिस भागेर छिमेकी देश भारतमा शरण लिन जाने गरेका छन्।

अधिकारकर्मी तथा अभियन्ताहरुले पछिल्ला सरकार धार्मिक अल्पसंख्यकमाथि पटक–पटक भइरहेको आक्रमणका घटनाविरुद्ध आवश्यक कदम चाल्न असफल भएको टिप्पणी गरिरहेका छन्। ‘उचित अनुसन्धानको अभावले बंगलादेशको एउटा ढाँचा मात्रै नभएर अल्पसंख्यकको सुरक्षाको अभाव पनि देखाउँछ,’ एम्नेष्टी इन्टरनेशनलको दक्षिण एसियाली अभियानकर्ता साद हम्मादी भन्छन्, ‘दण्डहिनता र आवश्यक उपायको अभावका कारण साम्प्रदायिक हिंसा दोहोरिइरहेको छ।’

बंगलादेशी कानुनमन्त्री अनिसुल हक भने अल्पसंख्यकमाथि भइरहेका आक्रमणमा भइरहेको अनुसन्धानमा कुनै प्रगती नभएको कुरालाई अस्वीकार गर्छन्। ‘ती सबै घटनामा अनुसन्धान भइरहेका छन्। यस्ता मुद्दाहरुमा अलि धेरै समय लाग्छ। हामी अनुसन्धानलाई जतिसक्दो चाँडो गर्ने कोसिस गरिरहेका छौं,’ हक भन्छन्।

उनले सरकारले इस्लामिक समुदायलाई सन्तुष्ट पार्न खोजिरहेको भन्ने आरोपको पनि खण्डन गरेका छन्। उनले भने, ‘त्यस किसिमको कुनै पनि आरोप ठीक छैन। हामी हरेक धर्मका सबै सदस्यहरु सद्भावपूर्ण रुपमा रहुन् भन्ने चाहन्छौं।’

केहीले भने सीमापारि भारतमा हिन्दू राष्ट्रवादी राजनीतिक पार्टी भाजपा सत्तामा रहँदा बढिरहेको मुस्लिम विरोधी भावना बंगलादेशी कट्टरपन्थी मुस्लिममा क्रोध पैदा गर्नमा केही हदसम्म जिम्मेवार रहेको समेत बताएका छन्। भाजपाले ढाकालाई आक्रोशित बनाउँदै बंगलादेशबाट अध्यागमन बढ्ने त्रास रहेको बताएको छ। भारतका हिन्दू कट्टरपन्थीहरुले भने आप्रवासीहरुलाई बंगलादेश नै निर्वासन गर्न आह्वान गरेका छन्।

‘भारतमा जसरी धार्मिक अल्पसंख्यकमाथि व्यवहार भइरहेको छ, त्यो दुर्भाग्यपूर्ण छ। यसलाई नै बहाना बनाएर कतिपयले बंगलादेशमा अल्पसंख्यकहरुलाई सताइरहेका छन्,’ अर्थशास्त्री भट्टचार्य भन्छन्, ‘तर, हरेक राज्यको कर्तव्य आफ्ना नागरिकलाई उचित रुपमा व्यवहार गर्नु र उनीहरुको सुरक्षा र अधिकारलाई जोगाउनु हुन्छ।’

शीर्ष समाचार

धेरै पढिएको