December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार
KN hd tv

प्रदेश–१ : प्रदेशसभा बैठक स्थगित गर्न कांग्रेसको माग, ‘फ्लोर क्रस’ को आशंका

मोरङ –आज (आइतबार) का लागि बोलाएको प्रदेश–१ को प्रदेशसभाको बैठक स्थगित गर्न नेपाली कांग्रेस प्रदेश नम्बर–१ ले माग गरेको छ । आज दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

गृहकार्य नपुगेको लगायतका विविध कारण रहेकाले आइतबारको बैठक स्थगित गर्न लिखित रुपमै माग गरिएको कांग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले बताए । ‘गृहकार्य नपुगेकाले आजको बैठक स्थगित गर्न माग गरेका हौ, सभामुखले बैठक बोलाएपछि के गर्ने भन्ने निर्णय हुन्छ’, कोइरालाले भने, ‘स्थगित गर्ने नगर्ने अधिकार सभामुखलाई छ ।’

कोइरालाले कस्तो गृहकार्य भन्ने प्रश्नको जवाफ भने दिएनन् । तर कतिपयले आजको बैठकमा कांग्रेसका सांसदहरुले फ्लोर क्रस गर्ने सम्भावना बढेकाले त्यसलाई रोक्न बैठक स्थगित गर्न माग गरिएको आशंका गरेका छन् ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश–१ भ्रमणमा आएकाले प्रदेशसभा स्थगित गर्न कांग्रेसले संसद सचिवालयमा निवेदन हालेको छ । देउवालाई प्रमुख कारण देखाए पनि अन्तर्यमा भने आफ्ना केही सांसदले फ्लोर क्रस गर्ने सूचना पाएर बैठक स्थगित गर्न निवेदन दिएको कांग्रेसकै एक सांसदले बताए ।

‘कांग्रेसबाट भीम आचार्यलाई मत दिने भन्ने चर्चा छ,’ ती सांसदले भने, ‘यही बेला प्रधानमन्त्रीको समेत भ्रमण छ, पार्टीमा थप छलफल गर्नु पर्ने स्थिति देखिएको छ ।’ मुख्यमन्त्री आचार्यले आइतवार विश्वासको मत लिने प्रयोजनका लागि मध्यान्ह प्रदेशसभा बैठक बस्ने कार्यसूची छ । ९२ सदस्यीय प्रदेशसभामा एमाले विभाजनपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् । उनलाई बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । तर विभाजनपछि एमालेका ४१ जना मात्रै सांसद छन् ।

शीर्ष समाचार

धेरै पढिएको