December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

फोक्सुन्डो तालमा बोन धर्मका प्रवर्तकको नयाँ मूर्ति

हिमाली जिल्ला डोल्पाको फोक्सुन्डो तालमा बोन धर्मका प्रवर्तक तोन्पा शेन्राव मिवोको नयाँ मूर्ति पुर्‍याइएको छ। स्थानीय थासुङ छोलिङ गुम्बामा स्थापना गर्न लागिएको मूर्तिलाई हाल ताल किनारामा राखिएको छ। 

गाउँलेलाई नयाँ मूर्ति दर्शन गर्न सजिलो होस् भनेर हामीले तालको किनारामा राखेका हौं’, बोन बुद्धिष्ट महासंघका महासचिव गेसे लोटोई छोग्लेक (छिरिङ लामा)ले भने, ‘हामी चाँडै नै मूर्तिलाई गुम्बाभित्र राख्नेछौं।’ 

स्थानीय बासिन्दा र महासंघको पहलमा ५ फिट अग्लो मूर्ति बनाइएको हो जसको तौल एक सय किलोग्राम छ। तामामा सुनको जलप लगाइएको मूर्ति बनाउन करिब २० लाख रुपैयाँ खर्च भएको महासचिव छोग्लेकले बताए। 

मूर्तिलाई काठमाडौंबाट हेलिकप्टरमा फोक्सुन्डो पुर्‍याइएको हो। प्राचीन बुद्ध मिवोले संसारका सबै प्राणीलाई सबै खाले दुःखहरूबाट रक्षा गर्न १८ हजार ३८ वर्ष अघि  युङढुङ् बोन धर्म प्रतिपादन गरेका थिए। यसको अभ्यासबाट सुख प्राप्त हुने जनविश्वास छ। 

बोन धर्मग्रन्थअनुसार समयक्रममा पृथ्वीमा एक हजार आठ बुद्धको जन्म हुन्छ। तोन्पा शेन्राव आठौं बुद्ध हुन्। जनहितका लागि उनले प्रतिपादन गरेको प्रज्ञा र करुणायुक्त मार्गलाई बोन धर्म भनिन्छ।

नेपालमा विशेषतः हिमाली भेकका बासिन्दा बोन धर्म मान्छन्। फोकसुन्डो तालको किनारमा पन्धौैं शताब्दीमा टेतोन छेवाङ छुल्ठिमले थासुङ छोलिङ गुम्बा बनाएका हुन्। डोल्पा पदयात्रा गर्ने पर्यटकहरूले यस गुम्बाको दर्शन गर्ने गरेका छन्।   

शीर्ष समाचार

धेरै पढिएको