December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

यसकारण काठमाडौं हैजाको जोखिममा छ

कपिलवस्तुको कृष्णनगर नगरपालिका ७, ८ र ९ मा असोज १८ देखि पखाला र बान्ताको कारणले ८८५ जना बिरामी भए। चार जना बिरामीको निधन पनि भयो। तीमध्ये तीन जना त १० वर्ष मुनिका थिए। 

नमूना परीक्षणबाट चार जनामा हैजाको जीवाणु पुष्टि भएको थियो। त्योसँगै ईकोलाई जीवाणु पनि देखिएको थियो। यो घटनाले फेरि कोरोनाकाल भन्दा अगाडि वर्षेनी देखिँदै आइरहेको नन–कोभिड संक्रामक रोगहरुले एकपछि अर्को कमब्याक गरेको संकेत दिइरहेको छ।  

हैजा विशेषत: ब्याक्टेरिया (हैजाको) मिश्रित पानी वा खानेकुराको उपभोग गर्दा संक्रमण हुने गर्दछ। यो छोटो समयमा तीब्र गतिमा फैलने गर्दछ। कृष्णनगर नगरपालिकामा पनि झाडापखाला छोटो समयमा सयौं संक्रमित भएको देखिन्छ। 

समयमा पहिचान गरी उपचार गर्न नसके २० देखि २५ प्रतिशतसम्म संक्रमितको मृत्यु हुन सक्छ। तर, समयमा उपचार पाए यसको मृत्युदर एक प्रतिशतभन्दा कम गर्न सकिन्छ। कृष्णनगरका वडाहरुमा फैलिएको हैजाको मृत्युदर पनि एक प्रतिशतभन्दा कम देखिएको छ।

तत्काल अस्पताल पुर्‍याउन सकेकोले वा उपचार पाएकोले ठूलो मानवीय क्षति हुन पाएको देखिँदैन। मृत्यु हुनेहरुमा घरमा बसेका, निजी क्लिनिक वा अस्पताल ल्याउँदै गर्दाहरु (ढिलो भएको देखिन्छ) छन्। हैजाका झाडापखाला यति घातक हुन्छ कि केही घण्टाभित्र संक्रमितले उपचार नपाए मृत्यु समेत हुने गर्दछ। तसर्थ, हैजाको संक्रमण पुष्टि भए तुरुन्त सम्बन्धित निकायमा खबर गरिहाल्नु पर्ने बाध्यकारी नियम पनि छ।

हैजाको सेरो समूह ‘ओ १’ र ‘ओ १३९’ घातक र महामारीको रुप लिनसक्ने भएकोले विश्व स्वास्थ संगठनमा ‘कलेरा’ को नामले रिपोर्ट गर्ने गरिन्छ। यसको ‘एलटोर’ र ‘क्लासिकल’ गरी दुई बायोटाइप हुन्छन्। बायोटाइप पनि ओगावा, इनाबा र हिकोजिमा गरी तीन सेरोटाईपमा वर्गीकरण गरिएका छन्। 

कृष्णनगर नगरपालिका वडाहरुमा देखिएको हैजा ‘ओ १’ सेरो समूहको ओगावा सेरोटाईप भनिएको छ। संक्रमण गरेको १२ घण्टादेखि ५ दिनसम्ममा लक्षणहरु देखिने गर्दछ। चामल माढेर निकालेको पानी जस्तो दिसा देखिनु, बान्ता हुनु, पेट वा खुट्टाको मांशपेशीका बौडिनु, तिर्खा लाग्नु, छटपटाहट हुनु यसका मुख्य लक्षणहरु हुन्। 

मुटुको चाल तीब्र हुनु, रक्तचाप घट्नु, छाला सुक्खा हुनु, छाला टनकाउँदा पूर्ववत् अवस्थामा ढिलो फर्कनु आदि जस्ता समस्या वा अवस्थाहरु देखिने गर्दछ। समयमा उपचार नपाए मिर्गौला फेल हुने र अचेत अवस्थामा गएको केही घण्टामा बिरामीको मृत्यु समेत हुन सक्छ।

५ देखि १० प्रतिशत संक्रमितहरुमा कडा हैजा देखिने गर्दछ। हैजाका लक्षणहरु पनि अरु संक्रमणका कारणले हुने झाडापखाला जस्तै देखिने भएकोले प्रयोगशाला परीक्षणबाट मात्र निश्चित निदान गर्न सकिन्छ।                    

केही वर्षको फरकमा काठमाडौंमा पनि हैजा देखिने गरेको पाइन्छ। कोरोनाको दोस्रो लहर शिथिल हुँदै जाँदा काठमाडौंमा मानिसहरु घरबाहिर निस्कने वा रमाउने क्रम बढ्दो छ। घरबाहिर खानपान गर्ने जीवनशैली पनि बढ्दै गइरहेको छ। विशेष गरेर सडकका छेउछाउमा बेचिने खाने कुराहरुको सरसफाइमा सबैले राम्रो ध्यान नदिएको हुन सक्छ।

विगतमा पनि विशेषगरी यस्तै ठाउँहरुमा राखिएका खानेकुराहरुबाट हैजा फैलिएको पनि पाइएको थियो। केही वर्षअघि जारका (कम्पनीको नाम थाहा नभएका) पानी प्रयोग गर्नेहरुमा हैजा फैलिएको पाइएको थियो। म आफैंले यस विषयमा अवलोकन गर्दा सुरुमा धेरैले विश्वास गरेका थिएनन्। तर, पछि विभिन्न प्रयोगशालाहरुमा परीक्षण गर्दा हैजाका जीवाणुहरु पुष्टि भएका थिए। 

हाल मानिसहरु काठमाडौं र अन्य शहरबीच आवतजावत हुने क्रम बढ्दै गइरहेको छ। यसले गर्दा एक शहर/गाउँमा देखिएको संक्रमण अर्को शहर/गाउँमा सहजै पुग्न सम्भावना बढाउँछ। संक्रमितको दिसामा १० दिनसम्म हैजाका किटाणुहरु निस्किरहेको हुन्छ। जसले गर्दा संक्रमित जहाँ जान्छ त्यहाँ हैजा फैलने जोखिम भइरहन्छ। 

काठमाडौं नेपालको संघीय राजधानी र सबैभन्दा बढी जनघनत्व भएको तर अव्यवस्थित शहर हुनु, मानिसको व्यापक आवतजावत हुने, अव्यवस्थित ढल तथा व्यापक रुपमा असुरक्षित व्यावसायिक पानीको प्रयोग आदिले हैजाको जोखिम काठमाडौंमा छैन भन्ने आधार देखिँदैन।

म आफैंले युवा अवस्थामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा दिँदा मनसुन सिजनको समयमा घण्टामा नै ४०–५० सम्म हैजाका कारणले भर्ना हुने बिरामी देखेको छु र त्यो अनुभव म सँग छ। त्यो बेला अस्पतालको सीमित शय्याका कारण भूँइमा राखेर उपचार गरिन्थ्यो।

त्यसैले पनि होला शुक्रराज अस्पताललाई विशेषत: ‘झाडापखालाको अस्पताल’ भनेर पनि चिन्ने गरिन्थ्यो। तर, अहिले परिस्थिति बदलिसकेको छ। केही वर्ष यता अस्पतालले झाडापखालाभन्दा पनि नयाँ–नयाँ इमरजिङ्ग सरुवा रोगहरुसँग जुध्दै आइरहेको छ। कोरोना र डेंगु महामारीमा यस अस्पतालले खेलेको भूमिका यसको ज्वलन्त उदाहरणहरु हुन्। तर, आजको दिनमा पनि हैजा पहिचान गर्नमा नै धेरै समय लाग्नुले हाम्रो प्रतिकार्य अझै सशक्त हुन जरुरी रहेछ भन्ने देखाउँछ। 

हैजा तीब्र गतिमा फैलने प्राणघातक सरुवा रोग भएता पनि सामान्य सावधानीहरु मात्र अपनाउन सके यसबाट बच्न र द्रुत नियन्त्रणमा ल्याउन सकिन्छ। साबुनपानीले हात राम्ररी धुने (खासगरी शौचालय गएपछि), सफा र सुरक्षित  खाना र पानीको उपभोग गर्ने जस्ता सरल उपायहरु अपनाउन सके हैजाबाट बच्च पर्याप्त हुनेछ।      

शीर्ष समाचार

धेरै पढिएको