September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार
KN hd tv

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं– पटक–पटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज हुँदैछ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुबै पद छाड्नुपर्ने माग उठेपछि असार २० यता लगातार स्थगित हुँदै आएको बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुन लागेको हो ।

गत असार १० गते सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि फुटको संघारमा पुगेको नेकपाको विवाद तत्कालका लागि मत्थर हुने संकेत देखिएको छ ।

शनिबार भएको सचिवालय बैठकमा ओलीले २०७७ चैतमा गर्ने भनिएको महाधिवेशन आगामी मंसिरमै गर्ने प्रस्ताव अघि सारेपछि प्रचण्डले सहमति जनाएको बताइएको छ ।

योसँगै ओलीले तत्काल दुबै पदबाट राजीनामा दिन नपर्ने भएको छ । तर, अग्रिम महाधिवेशनको प्रस्तावमा माधवकुमार नेपालले असहमति राखेकाले अझै ठोस सहमति हुन सकेको छैन ।

पार्टी एकताको काम नै पूरा नभएको अवस्थामा आउने मंसिरमै महाधिवेशन गर्न सम्भव नहुने नेपालको भनाइ छ । वरिष्ठ नेता झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि ओलीको प्रस्तावमा असहमत देखिएका छन् ।

अग्रिम महाधिवेशनको विषय दुई अध्यक्षको सहमतिमा मात्र नभई स्थायी कमिटी र केन्द्रीय कमिटीबाट टुंग्याउनुपर्ने नेता नेपालको माग छ । 

शीर्ष समाचार

धेरै पढिएको