December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

कपिलवस्तुमा झाडापखाला प्रकोप : शैंया अभावले भुईंमै उपचार

कपिलवस्तु- कपिलवस्तुको कृष्णगनर नगरपालिकामा फैलिएको झाडा पखालाको प्रकोप झनै फैलिँदै गएको छ । नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का एक दर्जन गाउँमा फैलिएको झाडापखालाको प्रकोपबाट बिरामीको संख्या निरन्तर बढ्दै गएको हो ।

प्रकोप शुरु भएको पाँचौ दिनसम्म पनि अझै नियन्त्रणमा आएको छैन । झाडा पखालाबाट ५ वर्षीय बालक र ४५ वर्षीय पुरुषको मृत्यु भइसकेको छ । गत आइतबार साँझबाट त्यहाँ झाडापखालाको प्रकोप शुरु भएको थियो ।

महामारीबाट कृष्णनगर नगरापलिकाको बहादुरगञ्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरा प्रभावित भएका छन् । अस्पताल प्रशासनका अनुसार बिहीबार बिहानसम्म बहादुरगंज अस्पतालमा ३ सय ७० जना बिरामी सम्पर्कमा आएका छन् । तर स्थानीयबासीले भने अस्पताल र निजी क्लिनिकमा गरी बिरामीको संख्या ५ सय नाघेको बताएका छन् ।

स्थानीय मनिष गुप्ताले झाडापखालाको बिरामीको संख्या ५ सय नाघेको बताए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयका अनुसार बहादुरगंज अस्पतालमा सम्पर्कमा आएका बिरामी ३७० जना बिरामीमध्ये ११० जना उपचारत छन् । २२८ जना बिरामी निको भई घर फर्किसकेका छन् । जटिल खालका ३२ जना बिरामीहरु कपिलवस्तु अस्पताल र प्रादेशिक अस्पताल बुटवलमा रिफर गरी पठाइएको पाण्डेयले बताए ।

प्रकोप शुरु भएको पाँचौ दिनसम्म पनि झाडापखाला नियन्त्रण हुन सकेको छैन । बिरामीको संख्या निरन्तर बढिरहेकोले उपचारमा समेत समस्या आएको छ । बेड अभाव भएपछि बिरामीलाई अस्पतालको बरन्डा, गल्ली र भुईमा राखी उपचार गरिरहेको छ ।

यस्तै अस्पताल किनारमा रहेको रामगार्खा उच्च मावि र महेन्द्र प्राविमा समेत बेड राखेर बिरामीहरुको उपचार भइरहेको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले बताए । अस्पताल बाहेक अन्य स्थानीय मेडिकल, क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचारत बिरामीहरुको सख्या एक सय बढी रहेको उनले बताए ।

मेयर शाहले प्रकोप फैलिन नदिन र आवश्यक सामाग्री जुटाउन आफूहरु लागिपरेको बताए । कृष्णनगर नगरपालिका भरी सचेतनामूलक माईकिङ समेत गरिएको उनले बताए। राम गोरखा माविमा अहिले ४० जना बिरामीको उपचार भइरहेको छ । बहादुरगञ्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएको अस्पतालले जनाएको छ ।

अस्पतालका डाक्टर मुकेश चौधरीले बिरामीहरुको चाप निरन्तर बढ्दै गएपछि उपचारमा समस्या आएको बताए । उनले थप सहयोगका लागि ३ वटै तहका सरकारसँग आग्रह गरेका छन् । अहिले यस अस्पतालमा ७ जना डाक्टरहरले उपचार गरिरहेका छन् ।

दुषित पानीका कारण झाडापखालाको प्रकोप फैलिएको हुनसक्ने अस्पतालका डाक्टरहरु बताउँछन्। उनीहरुmले प्रकोपलाई हैजा समेत हुन सक्ने बताएका छन् । स्वास्थ्य कार्यालयका प्रमुख पाण्डेयले ५ जनाको दिशा र त्यस क्षेत्रको पानीको परीक्षणका लागि काठमाडौँ र प्रदेश प्रयोगशाला पठाइएको बताए । त्यसको प्रतिवेदन अझै आई नसकेको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको