November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

मन्त्रिमण्डल विस्तारमा कांग्रेसभित्रै किचलाे, तत्काल सरकारले पूर्णता नपाउने

काठमाडौँ – अझै दुई दिनसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउने भएको छ । सत्ता गठबन्धनका दलहरूले आन्तरिक तयारी नसकेका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै केही दिन लाग्ने भएको हो ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भए पनि दलहरूले सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् गठनमा ढिलाइ हुने देखिएको छ ।

सत्ता गठबन्धनको दल नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य विरोध खतिवडाले पार्टीका आन्तरिक तयारी नपुगेकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन दुई दिन जति लाग्ने बताए ।

सत्तारुढ अर्को दल जनता समाजवादीका नेता मोहम्मद इश्तियाक राईले पनि पार्टीको आन्तरिक तयारी नसकिएकाले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लाग्न दुई/तीन दिन लाग्ने बताए ।

‘कांग्रेसको आन्तरिक विवाद कायमै छ, उसको विवाद टुंगो लागेपछि मात्र अरु पार्टीको मन्त्रीको टुंगो लाग्ने हो’, राईले भने, ‘कांग्रेसले कुन–कुन मन्त्रालय पाउँछ त्यसपछि अरुको टुंगो लाग्छ ।’

कांग्रेसभित्र देउवाले एकलौटी रुपमा मन्त्रिमण्डल विस्तार गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले असन्तुष्टी जनाउँदै आएको छ ।

प्रधानमन्त्री देउवाले आफ्नो कोटाबाट मात्रै मन्त्री नियुक्त गरेपछि पौडेल पक्ष असन्तुष्ट बन्दै आइरहेको छ । उनले आफू पक्षीय नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेपछि संस्थापन इतर पक्ष रुष्ट बन्दै आइरहेको छ ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एक/दुई दिन भित्र मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए ।

‘मन्त्रीको टुंगो लागेको छैन् । आज हुने सम्भावना छैन् । भोली र पर्सीसम्ममा विस्तार भइसक्छ,’ स्थायी कमिटी सदस्य रहेका नेता गजुरेलले भने ।

यस्तै नेकपा (एकीकृत समाजवादी )ले पनि मन्त्री र मन्त्रालय बाँडफाँडको टुंगो लगाउन बाँकी रहेको महासचिव बेदुराम भुसालले जानकारी दिए । नेकपा एसले मन्त्रीको टुंगो लगाउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिइसकेको छ ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएकाले देउवाले ७३ दिनभन्दा बढी हुंदा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको साढे दुई महिना पुग्न लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।

जसपाले दल विभाजनमा सहज हुने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा जाने मन्त्रीको टुंगो नलगाने अडान राखेको थियो । कांग्रेससिहत सबै दलहरूमा मन्त्री बन्नका लागि नेताहरूको हानथाप छ ।

अहिले प्रधानमन्त्री देउवासहित कांग्रेसबाट गृहमा बालकृष्ण खांड र कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ छन् ।

शीर्ष समाचार

धेरै पढिएको