May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

बिटक्वाइन मुद्दा: ५ जना दोषी ठहर, राप्रपाका नेतासहित ५ जनालाई सफाइ

काठमाडौं–कम्प्युटर सफ्टवेयरमार्फत् गणितीय सूत्रको प्रयोग गरी इन्टरनेटमार्फत् गर्ने पैसाको कारोबार (बिटक्वाइन) मुद्दामा ५ जना दोषी ठहर भएका छन् भने ५ जनाले सफाइ पाएका छन्।

सिन्धुली मरिन गाउँपालिका कल्पवृक्ष–४ घर भएका ३४ वर्षीय ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीको मालारानी गाउँपालिका खन–७ का ३४ वर्षीय माधव खनाल, काठमाडौं–४ भाटभटेनीका २५ वर्षीय प्रशान्तप्रताप शाह, रुपन्देही उपमहानगरपालिका–११ का मनिषकुमार गिरी, नुवाकोट बेलकोटगढी नगरपालिका–५ की २४ वर्षीया बिन्दा ढकाल दोषी ठहर भएका हुन्। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो। उनीहरुलाई सजाय तोक्न भने बाँकी नै छ। 

त्यसैगरी राप्रपाका एक नेतासहित ५ जनाले भने सफाइ पाएका छन् । सफाइ पाउनेमा राप्रपाका नेता दमन बस्नेत, अर्घाखाँचीको मालारानी खन–७ का सञ्जय खनाल, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ का मिङमार तामाङ, ताप्लेजुङका २१ वर्षीय विश्वविक्रम राई र स्याङ्जाको बिरुवा–१ का सौगातकुमार वाग्लेले रहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले ४ करोडभन्दा बढी बिगो माग दाबी गर्दै सरकारी वकिलमार्फत् २०७४ कात्तिक १२ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। 

बिटक्वाइन कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका प्रशान्तप्रताप शाहले दोलखाको तामाकोसी गाउँपालिका–५ किर्नेटारस्थित भीमबहादुर श्रेष्ठको घर भाडामा लिई बिटक्वाइन माइनिङको काम गर्ने गरेको खुलेपछि छापा मारेर सीआइबीले ठूलो मात्रामा सामानहरु बरामद गरेको थियो।

सीआइबीको अपरेशनमा विभिन्न मितिमा पक्राउ परेकामध्ये १० जनाविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा मुद्दा चलेको थियो। 

प्रशान्तप्रताप शाहले बिटक्वाइन कारोबारको क्रममा आफूले बिटएक्सनेपाल डटकम वेवसाइट  खोलि बिटक्वाइन सट्टापट्टाको कारोबार गर्ने गरेको प्रहरीसमक्ष बयान दिएका थिए। मनिषकुमार गिरीले आफ्नो फेसबुक पेजमा बिटक्वाइन प्रचार गर्ने गरेको, प्रशान्तले बिटक्वाइनको माइनिङ गर्न दोलखामा उपकरण जडान गरेका पाइएको थियो। 

माधव खनालले ज्ञानप्रसाद पौडेलबाट ग्राभिटी क्वाइन खरिद गर्ने गरेको, बिन्दा ढकालले वालेटमा ग्राभिटी क्वाइन जम्मा गरेको अनुसन्धानबाट खुलेको थियो। त्यस्तै दमन बस्नेतले प्रशान्तबाट बिट क्वाइनसम्बन्धी कारोबारको जानकारी लिएर बिटक्वाइन खरिद गरी कारोबार गरेको देखिएको भन्दै सिआइबी अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको थियो। 

उक्त बिटक्वाइन बस्नेतले आफ्ना भतिजा सौगात वाग्लेको मोबाइलमा राखेका थिए। ज्ञानप्रसाद पौडेलले प्रशान्त र अभिनाश साहसँग पटक–पटक बिटक्वाइन खरिद गरेको अनुसन्धानमा खुलेको थियो। मिङमार तामाङसँग १३ वटा क्रिप्टोकरेन्सी वालेट रहेको पाइएको थियो। सौगातकुमार वाग्ले र दमन बस्नेतले आफ्नो मोबाइलमा कोपे एप्स राखि त्यसमा बिटक्वाइन जम्मा गर्ने गरेका थिए। 

त्यस्तै अर्का प्रतिवादी विश्वविक्रम राईले ड्रिम क्वेस्ट इन्भेष्टमेन्ट प्रालि कम्पनीको नाममा बैकमा खाता खालेर बिटक्वाइनको कारोबार वापतको रकम जम्मा गर्ने गरेका थिए। यसरी अवैध विनिमय कारोबारमा संलग्न रही नेपालको अर्थतन्त्रलाई गम्भीर असर पर्न जाने गरी नेपाल राष्ट्र बैंकको गेटवेलाई बाइपास गरेर विदेशी विनिमय कारोबार गर्ने गरेको भन्दै मुद्दा दर्ता भएको थियो। 

उनीहरु १० जनाविरुद्ध ४ करोड ९ लाख ६६ हजार ५ सय ९६ रुपैयाँ बिगो माग र सजाय दाबी गर्दै मुद्दा दायर भएको थियो।

यो पनि पढ्नुहोस्

बिटक्वाइन मुद्दा : ४ करोडभन्दा बढी बिगो मागदाबी, सुनुवाइ सरेको सर्‍यै

कानुन मिच्दै यसरी हुन्थ्यो ई-सेवाबाट विदेशी मुद्राको अवैध कारोबार, राष्ट्र बैंक बन्यो रमिते

बिटक्वाइनमा मुछिएको ई-सेवामार्फत् ‘बेटिङ’ धन्दा, १३ प्रतिशत कमिसन बुझेर अवैध रकम ट्रान्सफर

बिटक्वाइन धन्दामा राष्ट्र बैंककै सहयोगमा ई–सेवालाई उन्मुक्ति

बिटक्वाइन धन्दा : अभियुक्त हुनुपर्ने असगर कसरी भए सरकारी साक्षी?

बिटक्वाइन धन्दा : राष्ट्र बैंकले लुकायो ई-सेवाको अनुसन्धान प्रतिवेदन

शीर्ष समाचार

धेरै पढिएको