नेकपा एकीकृत समाजवादीले टुंग्यायो पदाधिकारी चयन, को के बने ?
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । डा. भुसालले नेकपा (एमाले)ले मार्गदर्शक सिद्धान्त मान्दै आएको बहुदलीय जनवाद (जबज) मा विद्यावारिधि गरेका छन् । नेकपा (एस)को सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए ।
महासचिवका लागि भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रकाश ज्वाला, राजेन्द्र राई, रामकुमारी झाँक्री डा. विजय पौडेल लगायतको चर्चा थियो । मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ । बैठक बुधबार नै सम्पन्न हुने भए पनि महासचिवको टुङ्गो नलागेपछि आजलाई सारिएको थियो ।
डा.भुसाल २०७६ सालमा विद्यावारिधि गरेका थिए । त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट दिक्षित भएका हुन् । उनले जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम शीर्षकमा विद्यावारिधि गरेका हुन् । अध्ययनशील, इमानदार र वैचारिक नेता मानिने भुसाल हाल राष्ट्रियसभाका सदस्य छन् ।
भुसालले भने जबजका कुन–कुन विषय जनताको जनवादमा राखिएका छन् भनेर प्रमाणसहित दिएका छन् । माक्र्सवादको उदय, विकास र प्रयोगका सन्दर्भमा जबजको ऐतिहासिक महत्त्व छ र ती अहिले पनि सही भएको उनको निचोड छ ।
भुसालले मार्क्सवादको उदय र विकास कसरी भयो र त्यसको प्रयोग कहाँ, कसरी गरियो भन्ने विषयमा लामो अध्ययन गरेका छन् । निर्धारित चार वर्षमै विद्यावारिधि सकेका भुसालका गाइड डा.सुरेन्द्र केसी थिए । उनले पेरिस कम्युनदेखि चीनको नयाँ जनवादी व्यवस्थासँग समेत जबजको तुलना गरेको बताए ।
प्रतिकृया दिनुहोस्