नेपाली भूभाग डुबान परेपछि उर्जामन्त्री पुनको सक्रियता
काठमाण्डु – नेपालले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा भारतीय पक्षसँग वार्ता गर्ने भएको छ ।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार मन्त्रालयका उच्च अधिकारीलाई भेला गरी उक्त निर्देशन दिएका हुन् । मन्त्री पुनले सीमा क्षेत्रमा बाढी तथा डुबान समस्या समाधानका लागि ‘बाढी तथा डुबान व्यवस्थापन सम्बन्धी नेपाल–भारत संयुक्त समिति (जेसीआइएफएम) को बैठक तत्काल डाक्नेबारे भारतीय पक्षसँग वार्ता गर्न निर्देशन दिएका छन ।
दुवै देशका सह–सचिव रहने उक्त समितिको नेतृत्व नेपालकातर्फबाट सिंचाइ विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारीले गर्नेछन् ।
मन्त्री पुनले वर्षातको समयमा बाढी पहिरोको उच्चजोखिम हुने भएकाले पूर्वानुमानका साथै सम्भावित विपद न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिए । ‘बाढी, पहिरो र डुबानका कारण मानवीय र अरु क्षति नहोओस् भन्नेमा सचेत भएर काम गर्नुस्’, उनले भने, ‘यदि अकल्पनीय अवस्था आएमा जनशक्ति र साधनश्रोतको कमी नहोओस् ।’
उनले मन्त्रालयको राजनीतिक नेतृत्वका हिसाबले साधानश्रोतको कुनै कमी हुन नदिने स्पष्ट गर्दै आपतकालीन अवस्थामा मन्त्रिपरिषदबाट निर्णय गरेर भएपनि उद्दार तथा प्रकोप रोकथाममा लाग्न कर्मचारीलाई आग्रह गरे ।
यस्तै बाढी पहिरोको अवस्थाबारे जिल्लास्थित मन्त्रालय अन्तर्गतका निकायहरुबाट सूचना संकलनको व्यवस्था मिलाउन र नियमित रिपोर्टिङ गर्न पनि उनको निर्देशन छ ।
प्रतिकृया दिनुहोस्