नेपालमा १५.४ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
काठमाडौं – नेपालमा हिजो (बुधबार) सम्म एक करोड ९२ हजार १६४ डोज कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसमध्ये पूर्ण खोप लगाउनेको संख्या ४६ लाख ६७ हजार ३२८ रहेको छ ।
पहिलो मात्रा खोप लगाउनेको संख्या ५४ लाख २४ हजार ८३६ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाविरुद्धको खोप लगाउने लक्षित जनसंख्याको १५.४ प्रतिशतले पूर्ण खोप लगाइसकेको छ । मन्त्रालयका अनुसार १७.९ प्रतिशतले पहिलो डोज लगाइसकेको छ ।
नेपालमा कोरोनाविदरुद्धको खोप लगाउने लक्षित जनसंख्या २ करोड १७ लाख ५६ हजार ७६३ हो । जुन नेपालको कुल जनसंख्याको ७१.६ प्रतिशत हो । सरकारले खोप लगाउने अभियान जारी रहेको जनाएको छ । चैत मसान्तसम्म लक्षित सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्ने सरकारको दाबी छ ।
१८ वर्षमाथिका व्यक्तिमा कोरोना खोपको ‘क्लिनिकल ट्रायल’ हुने
नेपालका १८ वर्षमाथिका व्यक्तिमा कोरोना खोप परीक्षण (क्लिनिकल ट्रायल) हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाविरुद्धको अमेरिकी खोप १८ वर्षमाथिका व्यक्तिमा परीक्षणको लागि अनुमति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
अमेरिकी कम्पनी सानोफी पास्टरको प्रायोजनमा इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट कोरियासँग मिलेर अब खोपको परीक्षण गरिने नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।
परिषद्की अनुसन्धान अधिकृत नमिता घिमिरेका अनुसार बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज र धुलिखेल अस्पतालमा खोपको परीक्षण गरिने छ । ४ हजार जनामा उक्त खोपको परीक्षण गरिने परिषद्ले जनाएको छ । यसअघि सरकारले चीनमा उत्पादन गरिएको एमआरएनए खोपको पनि नेपालमा परीक्षण गर्न अनुमति दिएको थियो ।
१० भदौमा बसेको मन्त्रिपरिषद् बैठकले चीनमा उत्पादन गरिएको एमआरएनए खोपलाई नेपालमा परीक्षण गर्न अनुमति दिने निर्णय गरेको थियो । चिनियाँ कम्पनीले नेपालमा देउराली जनता फार्मास्यूटिकल्ससँगको सहकार्यमा यो खोपको परीक्षण गर्ने छ ।
प्रतिकृया दिनुहोस्