सेनामा सैनिक आचारसंहिता सप्ताह सुरु
काठमाण्डु– सैनिक मुख्यालयमा “दोस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह” २०७७ शुरु भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच बिहिवार सप्ताहको शुभारम्भ गरेका हुन् ।
कार्यक्रमको शुभारम्भको अवसरमा प्रधानसेनापति थापाले सैनिक संगठनभित्र सैनिक आचरण, नैतिकता तथा मूल्यमान्यता थप मजबुत बनाई विशिष्ट सैनिक चरित्र निर्माण गर्दै लैजाने उद्देश्यले नेपाली सेनामा वार्षिक कार्यक्रमको रुपमा “आचारसंहिता सप्ताह” सञ्चालन गर्न शुरु गरिएको जानकारी दिए ।
उनले संगठन सुधारका लागि कार्यरत सबै सकल दर्जामा सैनिक मूल्यमान्यता, अटल देशभक्ति, निस्वार्थ सेवाभाव, अनुशासन र सैनिक आचरण व्यवहारिक रुपमा उच्चस्तरको हुनुपर्नेमा जोड दिए ।
थापाले आचारसंहिता सैनिक व्यक्तिका लागि बहालमा रहँदा र अवकाशपछि पनि पालना गर्नुपर्ने जीवनोपयोगी मार्गदर्शन भएको वताए ।
आचारसंहिता सप्ताह नेपाली सेनामा कार्यरत सकलदर्जालाई आफू पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र गर्न नहुने कार्यहरुका बारेमा सुसूचित गराउदै एक अनुशासित, आचारणयुक्त र जिम्मेवार सैनिक व्यक्तिका रुपमा विकास गर्नका लागि नेपाली सेनाको सबै अंगको सबै तहमा सञ्चालन गरिएको सेनाले जनाएको छ ।
एक हप्तासम्म चल्ने उक्त कार्यक्रममासैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनौट सम्बन्धी, आर्थिक कारोवार, लैंगिक आचरण लगायतका विषयमा कक्षा सञ्चालन, प्रस्तुतीकरण, छलफल, केश स्टडी, प्रवचन जस्ता विधिहरुबाट कार्यक्रमहरु सञ्चालन हुनेछन् ।
नेपाली सेनाले २०७६ सालमा पनि वैशाख ६ गतेदेखि १३ गतेसम्म पहिलो पटक “नेपाली सैनिक आचारसंहिता सप्ताह” कार्यक्रम आयोजना गरेको थियो ।
प्रतिकृया दिनुहोस्