November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

एमाले एकता : विघटित कार्यदलका सदस्यहरु आन्तरिक छलफलमा

काठमाडौं- नेकपा एमालेले आज (आइतबार) का लागि बोलाएको केन्द्रीय समिति बैठक भोलिका लागि सारेको छ ।
आवश्यक तयारी पुरा नभएकाले एक दिन पर (सोमबार) सम्मका लागि बैठक सारिएको एमाले नेताहरुले बताएका छन् । तर, कस्तो तयारी भन्नेबारे उनीहरुले केही खुलाएका छैनन् ।

‘केही तयारी पुरा भएन । अर्कोतर्फ माधव पक्षले आइतबारको बैठक स्थगित गर्न आग्रह समेत गरेकाले बैठक सोमबारलाई सारिएको हो’, एमाले केन्द्रीय सदस्य तथा कार्यलय सचिव शेरबहादुर तामाङले भने, ‘धेरै दिन सार्न समय छैन ।’ उनले माधव समूहका नेताहरुसँग छलफल समेत जारी रहेको बताएका छन् ।

‘अनौपचारिक रुपमा नेताहरुबीच वार्ताहरु भइरहेका छन् । उहाँहरु अब भोलिको बैठकमा आउनुको विकल्प छैन । अब भोलि नआउनेहरु छुट्छन्’, तामाङले भने । यसैबीच आइतबार बिहानैबाट विघटित कार्यदलका नेताहरुबीच पार्टी एकताबारे छलफल भइरहेको छ । गोप्य रुपमा भएको छलफलमा पार्टी एकताको विन्दु पहिल्याउने प्रयास भइरहेको स्रोतले जानकारी दिएको छ ।

‘पार्टी एकताबारे विभिन्न ढंगले कुराकानी भइरहेको छ’, कार्यदलका एक नेताले भने, ‘आज बेलुकासम्म कुनै परिणाम आउछ कि भन्ने छ ।’ गत शुक्रबार सम्पन्न माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले १० बुँदे सहमति एकताको आधार मान्न सकिने भए पनि त्यो नै पर्याप्त नभएको निश्कर्ष निकालेको थियो ।

साथै एकता प्रक्रिया चलिरहेका बेला अध्यक्ष ओली पक्षले अघि सारेका सांगठनिक गतिविधिले एकताको वातावरण बिथोलिने भन्दै त्यस्ता गतिविधि रोक्न ध्यानाकर्षण गराएको थियो । तर सोही दिन एमाले प्रवक्ता तथा ओली पक्षीय नेता प्रदीप ज्ञवालीले एकताका नाममा अनन्तकालसम्म पर्खन नसकिने जवाफ दिएका थिए ।

यता माधव नेपाल पक्षका कार्यदल संयोजक समेत रहेका नेता भीम रावलले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । नेता रावल र राष्ट्रपतिबीचको भेटवार्तामा समेत एमाले संकटबारे छलफल भएको बुझिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको