November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

माधव नेपाल समूहमा छलफल– २४ गते ओलीले गर्ने निर्णय हेरेर अगाडिको बाटो तय गरिने

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीका आगामी कदमलाई हेरेर अगाडि बढ्ने विषयमा छलफल भएको छ। 

काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बिहीबार र  शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा ओलीका आगामी रणानीति र कदम हेरेर आगामी बाटो तय गर्नेबारे छलफल भएको बैठकमा सहभागी केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए।

अध्यक्ष ओलीले साउन २४ गते बैठक बोलाएको र बैठकबाट के निर्णय हुन्छ त्यही अनुसार आगामी बाटो तय गर्ने विषयमा छलफल भएको खतिवडाको भनाइ छ।  

‘केपी ओलीले २४ गते बैठक बोलाउनुभएको छ, कार्यदलका साथीहरुले निश्चय नै केही प्रगति हुन्छ भन्नुभएको छ। २४ गतेले के निर्णय गर्छ भनेर हामी हेरौं न भनेर चर्चा चलेको हो,’ खतिवडाले भने। 

पार्टी एकताको विषयमा अध्यक्ष ओली पक्षलाई अब अल्टिमेटम दिने वा समयसीमा तोक्ने विषयमा केही छलफल नभएको खतिवडाले जानकारी दिए। 

‘ओलीको स्वेच्छाचारितालाई सत्ताबाट तल झारेर तह लगाएका छौं। अन्तरपार्टी संघर्ष गर्ने हो, खुट्टा टेक्ने ठाउँ पायौं भने ओलीलाई चाँडोभन्दा चाँडो नियन्त्रण गर्न सक्छौं,’ खतिवडाले भने, ‘त्यो ठाउँ दिनुहुन्न, तल पार्नुपर्छ भन्ने ओलीको इरादा हो भने हामी तल परेर जाँदैनौं।’

नेता खतिवडाले आफूहरुले अहिले एकताकै कुरामा जोड दिइरहेको पनि बताए।  

‘अहिले एकताको कुरालाई जोड दिएको हो, सरकार हाम्रो प्राथमिकतामा होइन,’ खतिवडाले भने,  ‘२४ गतेले माधव कमरेडलाई आह्वान गर्छ कि ढोका बन्द भएको संकेत गर्छ। पर्खिने कुरा एउटा हो, तर त्यो उपलब्धिपूर्ण हुन्छ भन्ने होइन।’



शीर्ष समाचार

धेरै पढिएको