November 27, 2022, Sunday
२०७९ मंसिर ११, आईतवार
KN hd tv

प्रतिनिधिसभा विघटन गर्न केपी ओली मात्रै जिम्मेवार हुनुहुन्थेनः नारायणकाजी श्रेष्ठ

काठमाडौँ – राष्ट्रिय सभा सदस्‍य नारायणकाजी श्रेष्‍ठले केपी शर्मा ओली एक्लैले मात्रै प्रतिनिधिसभा विघटन नगरेको बताएका छन् ।

बुधबार राष्ट्रियसभामा बोल्दै श्रेष्ठले संसद विघटनमा ओली मात्रै जिम्मेवार नभएको भन्दै राजनीतिक पार्टीहरु र योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि जिम्मेवार रहेको बताएका छन् ।

‘यो मुलुकको यो बेहालका निम्ति (प्रतिनिधिसभा विघटन गर्न) त्यो प्रवृत्तिका बाहक उहाँ मात्रै (केपी ओली मात्रै) जिम्मेवार हुनुहुन्थेन । सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए,’ उनले भने ।

श्रेष्ठले वर्तमान सरकारले नयाँ ढंगले काम गर्नुपर्ने सुझाव दिएका छन् । प्रतिगमनलाई असफल पारेर बनेको सरकारले संविधान र लोकतन्त्रलाई प्रभावकारी ढंगले अगाडि बढाउने जिम्‍मेवारी वर्तमान सरकारको काँधमा रहेको बताएका हुन् ।

‘गठबन्धन र सरकारले यसबारे सोच्नुपर्छ । त्यो प्रवृति देखा पर्न नपाओस् । त्यसबाट आफूलाई मुक्त राख्नुपर्छ । निर्मम आत्म समीक्षा गर्नुपर्छ र सच्याउन तयार हुनुपर्छ । आफूलाई बदल्नुपर्छ पार्टी, नेता र सरकारले नयाँ ढंगले काम गर्नुपर्छ । आफूलाई बदल्न र जनअपेक्षित काम गर्न अपिल गर्न चाहन्छ,’ श्रेष्ठले भने ।

उनले दार्चुला घटनामा भारतले सार्वजनिक रुपमा क्षमायाचना माग्नु पर्ने माग गरेका छन् ।

‘अहिलेसम्म आएको तथ्यले के प्रष्ट गरेको छ भने भारतीय सीमा सुरक्षा बलका व्यक्तिकै कारणबाट तुइनको तार काटिएका कारणबाट जयसिंह धामी महाकाली नदिमा वेपत्ता भएका हुन् । यसका निम्ति भारतले अभिलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्न माग गर्दछु,’ श्रेष्ठले भने ।

शीर्ष समाचार

धेरै पढिएको