एमाले विवाद : पार्टी एकता जोगाउन अध्यक्ष ओली र नेपालबीच एक्ला-एक्लै बैठकको तयारी
काठमाडौँ – नेकपा एमालेको विवाद समाधानतर्फ उन्मुख भएको छ । एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिवाद बढिरहेका बेला दोस्रो तहका नेताहरु मिलाउन सक्रिय छन् । दुवै नेतालाई मिल्न पार्टीभित्र चर्को दबाव छ ।
एमाले स्रोतले दिएको जानकारीअनुसार अध्यक्ष ओली र नेता नेपालको बैठक गराउने तयारी भएको छ । एमालेमा १० बुँदे सहमतिअनुसार नै पार्टीको बिवाद मिलाउने प्रयासमा नेताहरु जुटेका छन् । एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले दुवै नेताबीच चांडै छलफल हुने जानकारी दिए ।
यसअघि नेता नेपालले १० बुँदे सहमति नमान्ने संकेत गरेका थिए । नेपालसंग नै सल्लाह गरेर उनी पक्षका नेताहरुले १० बुँदे सहमती गरेपनि अन्तिममा नेपाललाई त्यसलाई नमान्ने अडान लिएका थिए । तर,पछिल्लो समय भीम रावल, सुवास नेम्वाङ र विष्णु पौडेलसंगको निरन्तर संवादपछि उनी अध्यक्ष ओलीसंग छलफल गर्न तयार भएका हुन् ।
दुवै नेताको बैठक हुने निश्चित भएपनि समय भने तय नभएको बताइएको छ । त्यसका लागी आज वा भोली नै भेट्ने सम्भावना रहेको एमालेका एक नेताले बताए ।
एमालेमा नेपाल र ओली दुवै पक्ष पार्टी एकता जोगाउनका लागी अन्तिम प्रयासमा जुटेका हुन् । सोमबार बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले समेत एकताविरोधी अभिव्यक्ति नदिन आफु पक्षका नेताहरुलाई आग्रह गर्दै पार्टी एकतामै जोड दिने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस्