March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

माधव नेपालसँग आज गठबन्धनकाे ‘निर्णायक’ वार्ता

काठमाडौं – सत्तारुढ बठबन्धनले आज (शुक्रबार) नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग ‘निर्णायक’ वार्ता गर्ने भएको छ । वरिष्ठ नेता नेपाललाई पर्खिदा तीन सातासम्म मन्त्रिमण्डल विस्तार हुन ढिलाइ भएपछि गठबन्धनले आज (शुक्रबार) ‘निर्णायक’ वार्ता गरेर मन्त्रिपरिषद् विस्तारको तयारी थालेको हो ।

एमालेको नेपाल समूह सरकारमा सहभागी हुने वा नहुने निश्चित नभएका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएपछि सत्तागठबन्धनले उक्त समूहसँग शुक्रबार ‘निर्णायक’ वार्ता गर्ने तयारी गरेको हो । ‘मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइप्रति हामी गम्भीर छौं । शुक्रबार माधव कमरेडसँग ‘निर्णायक’ वार्ता गरेपछि मन्त्रिपरिषद् विस्तारको अन्तिम गृहकार्यमा लाग्छौं,’ माओवादी नेता नारायणकाजी श्रेष्ठले भने । उनका अनुसार नेपाल समूह सहभागी हुने र नहुने अवस्थामा मन्त्रालयको बाँडफाँड फरक–फरक हुने भएकाले उहाँहरूसँग ‘निर्णायक’ वार्ता गर्छौ ।’

बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालबीच कोटेश्वरमा छलफल भए पनि उक्त समूहको सरकारमा सहभागिताबारे अनिश्चितता कायमै छ । प्रचण्ड र नेपालबीचको संवादपछि गठबन्धनमा रहेका दलका शीर्ष नेताबीच पनि मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो ।

बिहीबारको छलफलमा प्रधानमन्त्री देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जनता समाजवादी पार्टी (जसपा)बाट उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई सहभागी थिए ।

शुक्रबार नेपालसँग प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै वा संयुक्त छलफलको तयारी छ । प्रधानमन्त्री देउवाले नेपालसँग छलफल गर्न प्रचण्डलाई जिम्मा दिएका छन् । त्यसपछि थप छलफल गर्ने देउवाको तयारी छ ।

सरकारलाई चाँडै पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनमा सैद्धान्तिक सहमति जुटिसकेको छ । ‘गठबन्धनभित्र शक्ति बाँडफाँडको विषय लगभग टुंगिएको छ । प्रधानमन्त्री ज्यूले त्यहीअनुसार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ,’ उनी निकट एक नेताले भने ।

शक्ति बाँडफाँडको खाका बनिसकेको भए पनि कुन मन्त्रालय कसले लिने भन्नेबारे पनि निक्र्योल नभएको ती नेताले बताए । ‘अहिले कसले कति मन्त्रालय लिने भन्ने एउटा सहमति बनेको छ, त्यही आधारमा दलहरूले आफ्नो पार्टीभित्र छलफल गरेर नाम पठाउँछन् र मन्त्रालयको टुंगो लाग्छ,’ ती नेताले भने ।

बिहीबार बसेको सत्तारुढ गठबन्धनको छलफलले सरकारमा शक्ति बाँडफाँडको टुंगो लगाएको हो । जसअनुसार कांग्रेसले अब उपप्रधानमन्त्रीसहित थप ६ वटा मन्त्रालय पाएको छ । त्यस्तै, माओवादी केन्द्रले सात, जनता समाजवादी पार्टी (जसपा) लाई पाँच वटा मन्त्रालय दिने सहमति बनेको ती नेताको भनाइ छ । बाँकी दुई मन्त्रालयको भने बाँडफाँड भएको छैन ।

एमालेको नेपाल समूहले तत्काल सरकारमा नआउने भनेको अवस्थामा र सहभागी भएको अवस्थामा संख्या फेरबदल हुन सक्ने नेताहरूको भनाइ छ । ‘अब ढिला नगर्ने भन्ने मुख्य सहमति हो । त्यहीअनुसार प्रधानमन्त्री ज्यूले तयारी गर्नुभएको छ,’ स्रोतले भन्यो । प्रधानमन्त्री देउवाले सकेसम्म चाँडो मन्त्रीको नाम सिफारिस गर्न गठबन्धनका सहयोगी दलहरूसँग आग्रह गरेका छन् ।

सरकारमा सहभागी हुने कि बाहिरै बसेर पार्टी एकतामा लाग्ने भन्ने विषयमा नेपाल समूहमा मतभेद छ । यही कारण दबाबमा रहेका नेपालले निर्णय दिन सकेका छैनन् । यद्यपि, उनले नेताहरूसँग लगातार छलफल भने जारी राखेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको