September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
KN hd tv

शुक्रबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिने गठबन्धनको तयारी, यी नेताको नाम चर्चामा

काठमाडौँ – पाँच दलीय गठबन्धनले शुक्रबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले भोलीसम्ममा मन्त्रिमण्डल विस्तार गरिसक्ने सहमति गरेको हो ।

बैठकले मन्त्रालयको भागबन्डाको जिम्मा शीर्ष नेताहरुलाई दिएको छ । सहमतिअनुसार सम्बन्धित पार्टीका प्रमुख नेताहरुले मन्त्रीको नाम टुंगो लगाउने र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनेछन् । मन्त्रीको नाम पाएपछि प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तार गर्ने नेपाली कांग्रेसका महामन्त्री डा. पूर्णबहादुर खड्काले जानकारी दिए ।

गठबन्धनबाट नेकपा एमालेको माधव नेपाल समूह सहभागी नहुने भएको छ । नेपाल समूहका नेता डा. विजय पौडेलले आफूहरु पार्टी एकताको पक्षमा रहेकाले सरकारमा सहभागी नहुने जवाफ दिएका छन् । देउवा नेतृत्वको सरकारमा नेपाल समूह सहभागी नहुने भएपछि चार दलीय मन्त्रिमण्डल बन्ने भएको छ ।

मन्त्रिमण्डल विस्तार हुने तयारी भएसँगै मन्त्रीका आकांक्षी पनि थपिएका छन् । सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डाको टुंगो लगाउन नपाएँदै मन्त्रीका आकांक्षीहरु थपिएका हुन् । नेपाली कांग्रेसमा एक दर्जन भन्दा बढी नेताहरु मन्त्रीको लाइनमा छन् । संस्थापन पक्षबाट डा. नारायण खड्का, मीन विश्वकर्मा, सचेतक पुष्पा भुसाल, डा. डिला संग्रौलालगायतका नेताहरुले मन्त्रीमा दाबी गरेका छन् ।

संस्थापन इतर पक्षबाट सुजाता कोइराला, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीको नाम चर्चामा रहेको छ । त्यस्तै सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधान मन्त्रीको लाइनमा छन् ।

साथै माअ‍ोवादी केन्द्रबाट १० जना नेताहरुले मन्त्रीमा दाबी प्रस्तुत गरेका छन् । माओावदी केन्द्रले सबै भूगोललाई समेटेर मन्त्री बनाउने तयारी गरेको छ । मापदण्ड बिना मन्त्री पठाउँदा विवाद आएको भन्दै यसपटक निश्चित मापदण्ड तय गरिएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

मन्त्रीको लविङमा नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङल, मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डल रहेका छन् । मधेशबाट मोदी र मण्डलको नाम चर्चामा छ । त्यस्तै महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठकाे नाम पनि चर्चामा छ ।

जनता समाजवादी पार्टी (जसपा) बाट तीन जना नेताको नाम चर्चामा छ । जसपामा अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, मोहम्मद इस्तियाक राईलगायतको नाम चर्चामा छ ।

शीर्ष समाचार

धेरै पढिएको