September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
KN hd tv

कोरोना संक्रमण पुन: बढ्यो, तेस्रो लहर भयावह हुने चेतावनी

काठमाडौँ – नेपालमा कोरोना संक्रमण फेरी बढ्न थालेको छ । मंगलबार कोरोना संक्रमणबाट निको हुने भन्दा संक्रमित हुने संख्या दोब्बर भन्दा बढीले बढेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मंगलबार ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यस्तै सोही समयमा १ हजार ७७८ जना निको भएका छन् । भने कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको जनाइएको छ ।

पछिल्लो समय भिड बढेकाले संक्रमण फेरी बढ्न थालेको बताइएको छ । संक्रमण बढ्दै गर्दा भाइरसको नयाँ स्वरुप पनि देखिएको छ । नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टमा उत्परिवर्तन फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको दिल्ली पठाएर ४७ वटा नमुनाको परीक्षण गरेकोमा तीन वटा नमुनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भेटिएको हो । जसलाई ‘ए वाई वान’ नाम दिइएको मन्त्रालयले जनाएको छ ।

उत्परिवर्तन भएको यो भेरियन्टलाई डेल्टा प्लस नामले चिनिने गरेको छ । नेपालमा अहिलेसम्म अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टको रूपमा ‘कप्पा’ भेरियन्ट पुष्टि भएको छ । भिडभाड हुने गतिविधि बढेसंगै संक्रमण फेरी बढ्न थालेको बताइएको छ । तर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले यसअघि पनि कोरोना संक्रमण नघटेको दाबी गरेका छन् ।

उनले भने, ‘कोरोना यसअघि पनि घटेकै थिएन । दैनिक जीवनलाई केही सहज बनाउन निषेधाज्ञा खुकुलो भयो तर कोरोना नै छैन झैँ गरी चहलपहल र भिड बढ्यो त्यसैले फेरी संक्रमण बढ्न थाल्यो ।’ लक्षण नदेखिएका संक्रमितहरु भिडभाडमा घुलमिल हुदाँ झनै बढेको उनको भनाई छ ।

डा. पुनले संक्रमण बढ्ने क्रम नरोकिए तेस्रो लहर अझ भयावह हुन सक्ने चेतावनी दिए । स्वास्थ्यमा मापदण्डको कडाइका साथ पालना नगर्ने हो भने नियन्त्रणबाहिर पुग्ने निश्चित रहेको बताइएको छ । यता सरकारले पनि असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ ।

तेस्रो लहरको जोखिममा बालबालिका

सरकारले तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने आँकलन गरेको छ । संक्रमण दर बढ्दै गए ३८ हजार ७ सय ७१ जनालाई अस्पतालमा भर्ना गर्नुपर्ने अनुमान गरिएको बताइएको छ ।

यस्तै अस्पताल भर्ना गरिएकामध्ये ९ हजार ७ सय ९३ जनालाई सघन उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले तयार पारेको द्रुत कार्ययोजनामा उल्लेख छ । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पछिल्ला हप्ताको स्थिर संक्रमणको आधारमा आगागी पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने सम्भावना रहेको बताए ।

तयारी अवस्थामा रहन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएको छ । अस्पतालहरुलाई वेड, आईसियु, भेन्टिलेटर, अक्सिजन र जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिएको हो । यस्तै तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहनेभएकाले एनआइसियु पनि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बालबालिकाका लागि १ सय ८० भेन्टिलेटरसहितको २ सय ७५ आईसीयू बेड थप्ने कार्य अघि बढाइएको छ ।

सरकारी अस्पतालमा हाइ डिपेन्डेन्सि युनिट बेड संख्या २ हजार ७५ र निजीमा ७ सय ७८ थप गरी सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयले थप १ हजार ४ सय शैया हाइ डिपेन्डेन्सी युनिट थप्ने क्रममा रहेको जनाएको छ । भेन्टिलेटरको संख्या ९ सय पुर्‍याइएकोमा १ सय ८० थप गर्ने प्रक्रियामा रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको