November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

देउवा पाँचौंपल्ट प्रधानमन्त्री बन्दै, आजै सानो आकारको मन्त्रिपरिषद

काठमाडौं –  सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज (मंगलबार) नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने भएकी छिन् । सर्वोच्चको आदेशपछि कांग्रेस सभापति शेरबहादुर देउवा आज पाँचौ पटक प्रधानमन्त्री बन्दै छन् ।

देउवाले आजै शपथ ग्रहण गर्ने पनि तयारी भएको छ । हिजो सर्वोच्च अदालतले २४ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । राष्ट्रपति कार्यालयका अनुसार आज बेलुका ५ बजेसम्ममा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र शपथ गराउने तयारी गरिएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ६३ सिट मात्र भए पनि सर्वोच्चको फैसलापछि देउवाले प्रधानमन्त्रीमा शपथ लिन लागेका हुन् ।
उनलाई प्रधानमन्त्रीमा नियुक्तिको परमादेशको माग गर्दै सत्तारुढ एमालेसहितका बहुमत सांसद सर्वोच्चमा उपस्थित भएर रिट दायर गरेका थिए ।

देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहबाट सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी भएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिएका छन् ।

विपक्षी गठबन्धनमा रहेका पाँच दलमध्ये माधवकुमार नेपालले पार्टी एकताको पक्षमा लाग्ने बताएका छन् भने बाँकी दलका तर्फबाट सात सदस्यीय मन्त्रिपरिषद् प्रस्ताव देउवाले गरेका छन् । आफ्नो पार्टीमा पौडेल समूहसहितको प्रतिनिधित्व गराएर दुई मन्त्री बनाउन लागेका देउवाले माओवादीलाई पनि दुई मन्त्री दिन आग्रह गरेका छन् । माओवादीबाट को मन्त्री बन्छन् भन्ने टुङ्गो लागेको छैन ।

यस्तै जनता समाजवादी पार्टीलाई कम्तिमा एकजना दिएर सरकारमा सहभागी हुन आग्रह गरेका छन् । शुरुदेखि नै ५ दलीय गठबन्धनमा आवद्ध भएको राष्ट्रिय जनमोर्चालाई पनि सरकारमा सहभागी गराउने देउवाको तयारी छ । सरकारमा सहभागी हुने र नाम दिने विषयमा भने सम्बन्धित दलहरुले बैठकबाट निर्णय गर्न बाँकी नै छ ।

जसपाका तीन नेता उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राईको बैठक अहिले केहिबेरमा बस्दैछ । शीर्ष नेताको बैठकपछि उपलब्ध कार्यकारिणी समितिको बैठक बस्ने नेता इस्तियाक राईले जानकारी दिए ।

संविधानको धारा ७६ (५) अन्तर्गत बनेका प्रधानमन्त्रीले प्रतिनिधि सभामा ३० दिनभित्र विश्वासको मत लिनु पर्ने हुन्छ । अदालतको धारा ७६ (५) अन्तर्गत बनेको प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा ह्वीप नलाग्ने व्याख्या गरेको छ । तर, एमालेमा एकताबारे सहमति भएमा झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई विश्वासको मत दिन नैतिक संकट पर्नेछ ।

विश्वासको मत नपाए सरकार अल्पमतमा पर्न सक्छ । यस्तो भएमा संविधानअनुसार नै प्रतिनिधि सभा विघटन भएर ६ महिनाभित्र चुनाव गर्नु पर्नेछ । सरकार गठनसँगै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा आज विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुट्दै छन् ।
माधवकुमार नेपालले भने विपक्षी गठबन्धनमा अब रहन नसक्ने बताएका छन् । पार्टीभित्र देखिएको विवाद समाधान गरी मिल्नेतर्फ गएकाले अब आफू विपक्षी गठबन्धनमा बसिरहन नमिल्ने नेता नेपालले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको