December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

सर्वोच्चको फैसलाले जनताको जीत भएको छ– प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएका छन्।

संसद पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापश्चात प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जीतको संज्ञा दिए। अदालतको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको पनि उनले टिप्पणी गरे।

‘संविधानको रक्षा र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा र राष्ट्रिय हितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको थियो । त्यसकारण म सर्वोच्चको यो फैसलालाई स्वागत गर्दछु । मेरो तर्फबाट, पार्टीको तर्फबाट र गठबन्धनको तर्फबाट पनि र सम्मानित सर्वोच्च अदालत, सम्माननीय प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरुलाई हार्दिक बधाई तथा धन्यवाद पनि भन्न चाहन्छु,’ प्रचण्डले भने।

सर्वोच्चको संवैधानिक इजलासका न्यायाधीशहरुले संविधान र राष्ट्रको गरिमालाई उँचो बनाएको पनि प्रचण्डले प्रतिक्रिया दिए। ‘संविधान र राष्ट्रको गरिमालाई उँचो बनाउनुभयो र न्यायालयको गरिमामयलाई पनि उँचो बनाउनुभयो । यसको लागि उहाँहरु बधाईको पात्र हुनुहुन्छ,’ प्रचण्डले भने।

पटक–पटकको संसद विघटन र संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको बताउँदै प्रचण्डले सर्वोच्चको फैसलालाई नेपाली जनताको जीतको रुपमा लिनुपर्ने बताए। 

सर्वोच्चको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको टिप्पणी गर्दै प्रचण्डले  त्यस घटनालाई इतिहासले सम्मान गर्ने पनि बताए।

शीर्ष समाचार

धेरै पढिएको