December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

मन्त्रीको भागबन्डा मिलाउन गण्डकीका मुख्यमन्त्री काठमाण्डुमा

काठमाण्डु – गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार गठन भएको १० दिन बितिसक्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन् । मन्त्री पदको भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

मन्त्रिपरिषद विस्तारमा सकस भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रिय नेताहरु गुहारेका छन् । हिजो काठमाण्डु आएका मुख्यमन्त्रीले गठबन्धनमा सामेल दलका केन्द्रिय नेताहरुसंग भेट्दैछन् । बिना विभागीय मन्त्री कुमार खड्कालाई लिएर आएका पोखरेलले हिजो नै कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका हुन् ।

केन्द्रमा भएको गठबन्धनको समिकरण प्रदेशमा सरेकाले कांग्रेसले गण्डकी प्रदेको नेतृत्व लिन सफल भएको हो । तर, अहिले मन्त्री परिषद विस्तारमा किचलो देखिएको छ । गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पोखरेलले सोही दिन ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

एमाले नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठन गर्न कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) बीच गठबन्धन भएको थियो । गठबन्धन बनाउने क्रममा दलको हैसियतअनुसार प्राथमिकताका आधारमा मन्त्रालय रोज्ने भनिएपछि कांग्रेसले अर्थ, माओवादीले भौतिक पूर्वाधार मन्त्रालय लिने सहमति भएको स्रोतले बतायो ।

कुराकानी गरेपछि कांग्रेसले अर्थ मन्त्रालय हरिशरण आचार्यलाई दिने सहमति गरेको थियो । तर अहिले आएर कांग्रेसले जसपालाई अर्थ मन्त्रालय दिन नसक्ने भनेपछि उत्पन्न विवादका कारण मन्त्रीहरूको कार्यविभाजन रोकिएको छ भने मन्त्रिपरिषद् विस्तार पनि हुन सकेको छैन । मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तारमा परेको गाँठो फुकाउन मुख्यमन्त्री पोखरेल शीर्ष नेताहरूलाई भेट्न काठमाण्डु आएका हुन् ।

उनले आज जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई भेटेका छन् । भेटमा डा भट्टराइले प्रदेशमा देखिएको समस्यामा केन्द्रले हस्तक्षेप नगर्ने भन्दै मिलेर जान सुझाव दिएका छन् । यसअघि भएका सहमति कार्यान्वयन गर्दै जनतालाई सहजताको अनुभूती दिलाउन वर्तमान प्रदेश सरकार लाग्नुपर्ने बताएको डा भट्टराइलाई उद्धृत गर्दै भट्टराइका सहयोगी रोशन पोखरेलले जानकारी दिए । यस्तै अहिले राष्ट्रिय प्रजातन्त्र पार्टिका नेताहरुसंगको भेट जारी रहेको छ । मुख्यमन्त्री पोखरेल राप्रपाको केन्द्रिय कार्यालय पुगेका छन् ।

यद्यपी छलफलमा को को छन् भन्नेबारे जानकारी गराइएको छैन । मुख्यमन्त्री पोखरेलले आजै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसंग पनि भेट गर्ने मुख्यमन्त्रीको निजि सचिवालयले जनाएको छ । मन्त्रिपरिषद् बिस्तार र कार्यविभाजनमा देखिएको समस्या सुल्झाउन मुख्यमन्त्री  कसरतमा छन् ।

शीर्ष नेताहरुले गठबन्धनलाई कमजोज बनाउन नहुने सुझाव मुख्यमन्त्रीलाई दिएका छन् । को मन्त्री बन्ने भन्दा पनि विकास कसरी गर्ने भन्नेमा सबैको ध्यान केन्द्रित हुनुपर्ने सुझाव दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।



शीर्ष समाचार

धेरै पढिएको