December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

निर्वाचन आयोगको भूमिका पूर्वाग्रहपूर्ण, राजनीतिक र कानुनी लडाईं लड्छौं : जसपा

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन आयोगको भूमिका पूर्वाग्रहपूर्ण रहेको टिप्पणी गरेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाईं लड्ने बताएका छन्। 

आयोगको निर्णयमा राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको यादवले बताएका छन्।

जसपाको जेठ १७ गते बसेको कार्यकारिणी समितिको बैठक (बहुमत)ले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताहरूलाई कारबाही गरेर पार्टीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो।

उक्त निर्णयको प्रतिलिपिसमेत संलग्न राेखर राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम आयोगले मागे बमोजिम सम्पूर्ण कागजात एवम् प्रमाणहरुसमेत बुझाई पार्टीको दल दर्ता किताबमा अध्यावधिक गर्नका लागि पठाएकोमा आयोगले त्यसलाई अस्वीकार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

आयोगको जेठ ३० गतेको बैठकले जसपाका दुवै पक्षको कारबाहीलाई मान्यता नदिने निर्णय गरेको थियो। पार्टीमा दुवै अध्यक्ष रहने निर्णय गरेर जसपालाई पत्राचार गरेको थियो। त्यसपछि सोमबार बसेको जसपाकाे बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाईं लड्ने निर्णय गरेको हो।

‘निर्वाचन आयोगको उक्त निर्णयले राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली २०७४ र जसपा, नेपालको अन्तरिम विधान २०७७ लाई आफ्नो सुविधा अनुरुप बंग्याई अपव्याख्या गरी पार्टी विधान विपरीत काम गर्ने, दलको आचारसंहिता पालना नगर्ने, अराजक एवम् अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रुपले वैधानिकता दिन खोजिएको जस्तो देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘जुन कार्य विधि सम्मत देखिँदैन। निर्वाचन आयोग जस्तो संवैधानिक निकाय पूर्वाग्रहरहीत भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हित अनुरुप निर्वाचन आयोगले गरेको उक्त निर्णय मान्य हुन सक्दैन र यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षता माथि नै गम्भीर शंका उत्पन्न भएको छ।’

शीर्ष समाचार

धेरै पढिएको