May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

सामूहिक बलात्कार गरी हत्या गर्ने ५ जना जन्मकैद

नेपालगन्ज – बाँकेको डुडुवा गाउँपालिकामा एकजना महिलालाई सामूहिक बलात्कार गरी हत्या गर्ने ५ जनालाई जिल्ला अदालत बाँकेले जन्मकैदको सजाय गरेको छ ।  १९ असोज ०७३ मा बाँकेको डुडुवा गाउँपालिका (साबिक कम्दी गाविस) मलेहपुरुवामा मेडिकलमा औषधि लिन गएकी २८ वर्षीया शान्ति बुढालाई डुडुवा गाउँपालिका (साबिक कम्दी गाविस-६) मलेहपुरुवाका ३५ वर्षीय पुत्ती भन्ने नसिफ खाँ, वर्ष ३० का सगिर खाँ, छोटु भन्ने रियाज अली अन्सारी, ४२ वर्षका ईदु खाँ र कम्दी ४ लालापुरका ३० वर्षीय झलारीप्रसाद वर्मालाई सामूहिक बलात्कार गरेर हत्या गरेका थिए । 

जिल्ला न्यायाधीश मनकुमारी जिएम विकको इजलासले पाँचैजनालाई जन्मकैदसँगै जनही ५० हजार रुपैयाँका दरले दुई लाख ५० हजार रुपैयाँ पीडित परिवारलाई क्षतिपूर्ति दिने फैसला भएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टले जानकारी दिए । 

अदालतले ३२ जेठमा फैसला गरेको हो । पाँचैजनाले हात, खुट्टा र टाउको समातेर, मुख थुनेर, पालैपालो बलात्कार गरेको र प्रहरीमा उजुरी गर्ने डरले हत्या गरेको,’ स्वीकार गर्दै बयान दिएका थिए ।   ज्वरो आएको र टाउको दुखेर उपचार गर्न कम्दीको शाहपूर्वास्थित रोहित गुप्ताको मेडिकलमा दिउँसो ४ बजे पुगेकी बुढा दुई बोतल सलाइन चलाएर घर फर्किँदै गर्दा ६ बजेतिर सामूहिक बलात्कारको शिकार भएकी थिइन् । 

मेडिकलमा उपचार गरेर फर्किदै गर्दा एकान्त स्थानमा बुढालाई ५ जनाले दुई घण्टासम्म पालैपालो सामूहिक बलात्कारपछि हत्या गरेका थिए ।  अर्को दिन उनको शव अरहर बारीमा नांगो अवस्थामा भेटिएको थियो । मृतकको दायाँ खुट्टाको घुँडा मुनी र घाँटीमा सल र सुरुवालले बाँधेको, योनीबाट रगत बगेको अवस्थामा फेला परेको थियो । 

शीर्ष समाचार

धेरै पढिएको