December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

बि एण्ड सीलाई सम्बन्धन दिए नेपाल फर्कनासाथ सत्याग्रह थाल्ने डा केसीको चेतावनी

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन प्रदान गरिए सत्याग्रह थाल्ने चेतावनी दिएका छन्।

हाल यमनको शिहेनमा रहेका डा केसीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र तथा ध्याकर्षण गर्दै बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन प्रदान गर्ने नियतले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक बोलाइएको भन्दै बिरोध जनाएका छन्।

नेपाली नागरिकहरुको निरन्तरको प्रयासको फलस्वरूप चिकित्सा शिक्षा सुधारको ऐन निर्माण भई चिकित्सा शिक्षा आयोग गठन भएको र यसले गर्दा सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षामा प्रत्येकले नेपाली नागरिकले समान पहुँच प्राप्त गर्न सफल हुने डा केसीको भनाइ छ। तर, आयोगको अध्यक्षको हैसियतले प्रधानमन्त्रीले त्यसको मर्मको सम्मान गर्नुको सट्टा स्वास्थ्य माफियाहरुको हितको लागि त्यसलाई तोड्ने काम गर्दै गर्न लागेको भन्दै बिरोध जनाएका छन्।

‘शुक्रबार जेठ २८ गते बि एण्ड सी मेडिकल कलेजलाई चोर बाटोबाट सम्बन्धन प्रदान गर्ने नियतले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक डाक्नुभएको छ’ डा केसीले जारी गरेको ध्याकर्षणमा भनिएको छ, ‘नेपाली नागरिकहरुले यहाँलाई मत प्रदान गरी देशको कार्यकारी बनाइ तलब, भत्ता, महँगो स्वास्थ्योपचारको खर्चको लागि कर तिरिरहेका छन्। तर स्वास्थ्य माफियाहरुको चंगुलमा परेर संविधान, लोकतन्त्र, तथा विधिको शासन वर्खिलाप हुने गरी यहाँले आम नागरिकहरुको हितमा कार्य गर्नुको सट्टा अहित हुने कार्यमा निरन्तर लागिरहनुभयो।’

कोभिडको दोस्रो लहरको महामारीमा सम्पूर्ण राज्य संयन्त्र लगाएर आम-नेपालीहरुको जीवन रक्षार्थ तथा चिकित्सा शिक्षा ऐनको प्रावधान अनुरुप प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण गर्न लाग्नुपर्नेमा सरकारले त्यसो नगरेको बरु बि एण्ड सी मेडिकल कलेजका संचालकले आफ्ना साथीहरु तथा आयोगका पदाधिकारीहरुलाई बारम्बार ज्यानको धम्की दिए वापत कारवाही गर्नुपर्ने मा प्रधानमन्त्री पदको दुरुपयोग गरी तिनै संचालकलाई पुरस्कृत गर्न उचित ठानेको आरोप डा केसीको छ। यस्तो लुटतान्त्रिक कार्य सभ्य समाजमा कदापि स्वीकार्य नहुने उनको भनाइ छ।

चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठकबाट बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन प्रदान गर्न गैर-न्यायिक संशोधन गरिएमा उक्त कदम तथा ओलीका अन्य भ्रष्ट तथा अनैतिक कार्यहरुको विरुद्धमा अर्को चरणको सत्याग्रहको शुरुवात आफू नेपाल फर्कन बितिक्कै थाल्ने चेतावनी डा केसीले दिएका छन्। उनले भनेका छन्, ‘त्यसको लागि तयार रहनुहोला।’

डा केसी करिब २ महिनादेखि युद्धग्रस्त यमनमा स्वयंसेवा खटिएका छन्। 

शीर्ष समाचार

धेरै पढिएको