November 26, 2022, Saturday
२०७९ मंसिर १०, शनिबार
KN hd tv

आज रातिदेखि शुरु हुँदै ‘मिनि विश्वकप’

काठमाडाैं- युरोपियन फुटबल महासंघ (युइएफए) को आयोजनामा हुन लागेको ‘मिनी विश्वकप’को रुपमा परिचित युरोकपको १६औं संस्करणको महादेशीय फुटबल प्रतियोगिता शुक्रबार रातिबाट शुरु हुँदैछ।

प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ। प्रतियोगिता ११ देशका ११ शहरमा आयोजना हुनेछ। शुरुमा सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म प्रतियोगिता आयोजना हुने तय भएपनि कोरोना महामारीको कारण एक वर्ष पछाडि धकेलिएको थियो।  एक वर्ष सारेर सन् २०२१ मा प्रतियोगिता आयोजना गर्न लागिए पनि नाम युइएफए युरो २०२० नै राखिएको छ। त्यसैले पहिलो पटक युरोकप विजोर वर्षमा हुन लागेको हो।

प्रतियोगिताको उद्घाटन खेल जुन ११ मा इटालीको रोममा हुँदैछ। उद्घाटन खेलमा टर्की र इटालीबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा जुलाई ११ मा हुनेछ।  कोरोना महामारीका कारण खेलमा सीमित दर्शकलाई मात्र प्रवेश दिइनेछ। 

प्रत्येक देशमा समूह चरणका तीन खेल र अन्तिम १६ वा क्वार्टरफाइनलको एक खेल हुनेछन्। ६ समूहका शीर्ष दुई टिम गरी १२ टिम अन्तिम १६ मा पुग्नेछन्। समूहमा तेस्रो हुनेमध्ये उत्कृष्ट ४ टिम पनि अन्तिम १६ मा पुग्नेछन्।समूह चरणका खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे,  राति ९:४५ बजे र मध्यरात १२:४५ बजे हुनेछन्। अन्तिम १६  र क्वार्टरफाइनल खेल राति ९:४५ बजे र मध्यरात १२:४५ बजे हुनेछन्। सेमिफाइनल र फाइनल खेल मध्यरात १२:४५ बजे हुनेछ।

५ नयाँ टोली 
युरोकपको ६० वर्षे इतिहासमा दोस्रो पटक २४ टिमबीच प्रतिस्पर्धा हुँदैछ। जसमध्ये १९ टिम अघिल्लो संस्करण खेलेका थिए। ११ वटा आयोजक देशमध्ये सात देशले युरो कपको छनोट सिधा पार गरेका थिए। हंगेरी र स्कटल्याण्डले प्लेअफ जितेका थिए। 

फिनल्याण्ड र नर्थ म्यासेडोनिया पहिलोपटक युरोकप खेल्दैछन्। फिनल्याण्ड, इटली रहेको समूह ‘जे’बाट दोस्रो हुँदै सिधै छनोट भएको हो। यता, नर्थ मेसेडोनिया प्लेअफ हुँदै छनोट हुन सफल भएको हो। 

यस्तै, स्कटल्याण्ड सन् १९९८ को विश्वकपपछि पहिलो मुख्य प्रतियोगिता खेल्दैछ। २५ वर्षपछि पहिलोपटक युरोकपमा छनोट भएको स्कटल्याण्डले सन् १९९६ मा युरोकप खेलेको थियो।

नेदरल्याण्ड्स २०१४ को विश्वकपछि पहिलो पटक मुख्य प्रतियोगिता खेल्दैछ। अघिल्लो संस्करणमा र डेनमार्क युरोकपमा छनोट हुन सकेको थिएन। नेदरल्याण्ड्स र डेनमार्क युरोकपका पूर्व विजेता राष्ट्रसम्मेत हुन्। यी दुवै राष्ट्र २०१६ मा छनोट हुन असफल भएका थिए। नेदरल्याण्ड्स र डेनमार्क छनोट चरण पार गरेपछि यसपटक पूर्वविजेता १० राष्ट्रमध्ये ९ राष्ट्र छनोट भएका छन्।

यस्तै, यसअघि एक–एक पटक उपाधि जितेका सोभियत संघ र चेकोस्लोभाकिया भने अहिले विभिन्न राष्ट्रमा विभाजित भइसकेका छन्। यता, सन् २०१६ मा  डेब्यु गरेका वेल्स र स्लोभाकिया यसपटक पनि छनोट भएका छन्। यसपटकको युरोकपमा पूर्व विजेता ग्रिस प्रतियोगिता सहभागी छैन। २००४ को विजेता ग्रिस छनोट पार गर्न असफल भएको थियो। यता, अल्बानिया, आइसल्यान्ड, उत्तरी आयरल्यान्ड, आयरल्यान्ड गणतन्त्र र रोमानिया युरो २०२० मा छनोट हुन सकेनन्। उनीहरुले सन् २०१६ को युरोकप खेलेका थिए।

यस्तै, आयोजक देशमध्ये रोमानिया र अजरबैजान भने छनोट हुन असफल भए।  युरोकप २०२० को छनोटमा बेल्जियम र इटलीले शतप्रतिशत जित हात पारेका थिए। दुवै टिमले आफ्नो समूहमा समान १० खेल जितेका थिए। समूह ‘आई’ मा रहेको बेल्जियमले ४० गोल गर्दा जम्मा ३ गोल मात्र खाएको थियो। यस्तै, समूह ‘जे’ मा रहेको इटलीले ३७ गोल गर्दै ४ गोल खाएको थियो। छनोटमा बेल्जियमका रोमेलु लुकाकुले ७ गोल गरेका थिए भने इटलीका आन्द्रे बालोट्टीले ४ गोल गरेका थिए।

पूर्वविजेता १० मध्ये यसपटक ग्रीसबाहेक अरु टिम छनोट भएका छन्। जसमा ६ पूर्वविजेता अहिले पनि उपाधि दाबेदार हुन्। यस्तै, अहिलेसम्म उपाधि जित्न नसकेको इंग्ल्याण्ड र बेल्जियम पनि उपाधिको दाबेदारको रुपमा हेरिएकाे छ।

सन् १९६० को पहिलो संस्करणदेखि पाँचौ संस्करणसम्म युरोकप ४ टिमबीच खेलाइएको थियो। १९८० को छैटौ संस्करणदेखि टिम संख्या बढाएर ८ पुर्‍याइयो। १९९६ को दशौं संस्करणदेखि पुनः बढाएर १६ टिम पुर्‍याइएको थियो।पाँच वर्षअघि फ्रान्समा भएको १५औं संस्करणमा पहिलोपटक टिम २४ पुर्‍याइएको थियो।

शीर्ष समाचार

धेरै पढिएको