December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

कोभिसिल्डको विकल्पमा अर्को खोप खोज्न नेपाललाई कोभ्याक्सको आग्रह

काठमाडौं– भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने भएपछि कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्प माग गरेको छ। 

कोरोना विरुद्धको खोप कम विकसित, विकासशील, विकसोन्मुख देशहरुमा समेत समान वितरणका लागि बनेको ग्लोबल एलाइन्स कोभ्याक्स फ्यासिलिटीले नेपालमा पहिलो चरणमा कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज उपलब्ध गराएको थियो।

कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशतका लागि खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।

कोभ्याक्सले मे वा जुन महिना सम्ममा कोभिसिल्ड खोपको बाँकी डोज उपलब्ध गराउने भनेपनि अहिले उक्त खोपको विकल्पमा नयाँ खोप खोज्न नेपाललाई आग्रह गरेको हो। 

कोभ्याक्सले सुरुवातमा सबै कोभिसिल्ड खोप नै दिने भनेको भएपनि सेरमले तत्काल खोप उपलब्ध गराउन नसकिने भनेसँगै उसले नेपालसँग नयाँ खोपको विकल्प माग गरेको हो। 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा तारा पोखरेलले भने, ‘सेरमले तत्काल खोप दिन नसक्ने भएपछि कोभ्याक्सले त्यसको विकल्पमा कुन खोप नेपालका लागि उपयुक्त हुन्छ भनेर सोधेको छ। हाम्रो खोप सल्लाहकार समितिले त्यस विषयमा छलफल गरिरहेको छ। जुन १ सम्म हामीले त्यसको जवाफ पठाउने छौँ।’

कोभ्याक्सले नेपाललाई कोभिसिल्ड बाहेक कुन खोप उपयुक्त हुन्छ भनेर सोधेकोले त्यसबारे सरकारले निर्णय गर्ने उनले बताए। 

उनले कोभ्याक्सले कोभिसिल्ड खोप उपलब्ध गराएका सबै देशहरुलाई नयाँ खोपको विकल्प माग गरेको जानकारी दिए। 

नेपालमा औषधि व्यवस्था विभागले कोभिसिल्ड, कोभ्याक्सिन, स्पुतनिक भी र भेरोसेल खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ। 

स्वास्थ्य सेवा विभागले कोभिसिल्ड तत्काल नआउने भएपछि खोप खरिदका लागि नेपालमा दर्ता भएका अन्य तीन खोप उत्पादक र अमेरिकाको मोर्डना, जोन्सन एण्ड जोन्सन कम्पनीलाई पत्राचार गरेको थियो।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले अमेरिकाको जोन्सन एण्ड जोन्सन र रसियाको स्पुतनिक भी खोप पठाउन सकारात्मक रहेको प्रतिउत्तर आएको जानकारी दिए।

यी दुई कम्पनीले अन्तर्राष्ट्रिय मूल्यमा नेपालमा खोप पठाउन सकारात्मक रहेको र आवश्यक छलफल गरिने जवाफ दिएको डा सिंहको भनाइ छ। यी दुई कम्पनीले आधिकारीक एजेन्ट मार्फत खोप दिने विषय पनि पत्रमा लेखेका छन्।

शीर्ष समाचार

धेरै पढिएको