June 16, 2024, Sunday
२०८१ असार ४, सोमबार
KN hd tv

‘आँसु लुकाएर उपचार गर्दै छौं’

भर्ना नपाएर कोरोना संक्रमित स्ट्रेचरमा छटपटिन्छन् । अक्सिजनको अभाव उस्तै छ । स्वास्थ्यकर्मी आफैं सिलिन्डर खोज्न निस्कनुपर्छ । आईसीयू र अक्सिजन नपाएर संक्रमितले दिनहुँ ज्यान गुमाइरहेका छन् । अस्पतालमै संक्रमित खचाखच भएका बेला थप भर्नाका लागि चौतर्फी दबाब आउँछ ।

जनशक्ति पर्याप्त छैन । भएका स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा खटाउनु परिरहेको छ । यस्तै समस्यामा गिजोलिए पनि हरसम्भव संक्रमितको उपचार गरिरहेको नेपालगन्जको भेरी अस्पतालको नेतृत्वमा छन्, डा. प्रकाश थापा । मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. थापा आफैं दिनरात खट्छन् । संक्रमित भर्नाका लागि बुधबार दिनभर आफैं टेन्ट व्यवस्थापनमा लागेका थिए । कोरोना उपचारको केन्द्र बनेको अस्पतालमा लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमबाट बिरामी आइरहेका छन् ।

विषम परिस्थितिमा अस्पताल प्रशासन सञ्चालन गर्न र बिरामीको उपचार कसरी सम्भव भएको छ ? ‘अस्पताल आइसकेको बिरामीलाई घर जानूस् भन्न मिलेन । भुइँमा राखेर भए पनि उपचार गरिरहेका छौं । चुनौती धेरै छन् । चुनौतीसँग जुधेरै अगाडि बढ्ने प्रयास गरिरहेका छौं,’ डा. थापाले भने, ‘हामीले गरिरहेको प्रयासमा स्थानीय प्रशासन र अन्य निकायले सहयोग गरिरहेका छन् ।’ बेड नपाएर अस्पतालको इमर्जेन्सी अगाडि बिरामी छटपटिँदा उनी आफैं बेड मिलाउन पुग्छन् ।

अक्सिजन व्यवस्थापनका लागि प्रशासनसँग समन्वयदेखि अर्थ जुटाउनसम्म आफैं खटिरहेका हुन्छन् । जनशक्ति अपुग भएकाले संक्रमित स्वास्थ्यकर्मीलाई रातदिन परिचालन गरिएको छ । थोरै जनशक्ति, बेड र अक्सिजन अभावले सेवा दिन चुनौती छ । ‘भेरी अस्पताल विकास समितिले पनि हामीलाई सहयोग गरिरहेको छ । प्रशासन, सुरक्षा निकाय, विभिन्न संघसंस्थाकै सहयोगमा अगाडि बढिरहेका छौं,’ डा.थापाले भने, ‘महामारीका समयमा धेरै कुरा गौण हुन जान्छन् । प्रमुख कुरा बिरामीलाई कसरी सेवा दिन सकिन्छ भन्ने नै हो ।’ चिकित्सकलगायतका स्वास्थ्यकर्मी स्वस्फूर्त रूपमै बिरामीको सेवामा जुटेको बताउँदै उनले कुनै थप पारिश्रमिक वा भत्ताको व्यवस्था नरहेको जानकारी दिए ।

कोरोनाको दोस्रो लहर सुरु हुनुअघि भेरी अस्पतालमा ६ जना संक्रमित मात्रै उपचारका क्रममा थिए । पहिलो चरणको संक्रमणमा निको हुने दर धेरै भएकाले चाप थिएन । डेढ महिनाअघि सुरु दोस्रो लहरले अस्पतालमा बिरामीको चाप थेगिनसक्नु छ । रातदिन लागेर वा चाहेर पनि चिकित्सकहरूले बिरामीलाई आवश्यक उपचारसेवा दिन सकिरहेका छैनन् । एउटै नर्सले ३०/३५ जना कोरोनाका बिरामीलाई हेर्नुपर्ने बाध्यता छ ।

यसै गरी संक्रमण बढ्दै जाने हो भने कसैले केही गर्न सक्ने अवस्था नरहने चिकित्सकहरू बताउँछन् । ‘कोरोना महामारी नियन्त्रणभन्दा बाहिर गइसक्यो । हामीले सक्ने सेवा दिने प्रयास गर्ने हो । त्यसभन्दा बढी हाम्रो हातमा केही रहेन,’ मेडिकल सुपरिन्टेन्डेन्ट डा. थापाले भने ।यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

शीर्ष समाचार

धेरै पढिएको