December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

‘अपराध कर्मलाई इतिहासले माफ कसरी गर्ला?’: प्रधानमन्त्री ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई मजबूत बनाउने कार्यमा सरिक हुन आह्वान गरेका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन्।

उनले भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने बताएका छन्। ‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु। तसर्थ पार्टीलाई मजबूत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।

उनले माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्श्या रहेको आरोप लगाएका छन्।

‘यस आन्दोलनलाई उनीहरूको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन। आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरूका स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन्। कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखापरेका छन्। यी प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त होइनन् र यी हानिकारक छन्,’ उनले भनेका छन्।
 
ओलीले थप भनेका छन्, ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु। यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो। यस पार्टीका इमान्दार नेता कार्यकर्तापार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुर्‍याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छु।’

शीर्ष समाचार

धेरै पढिएको