June 16, 2021, Wednesday
२०७८ असार ३, बिहीबार
KN hd tv

बागमती प्रदेश राष्ट्रियसभाको उपनिर्वाचन : ओली बादलतिर अरु सबै अर्कातिर

काठमाडौँ – बागमती प्रदेशको राष्ट्रियसभाको उपनिर्वाचनमा नेकपा एमालेबाट दुई जना उम्मेद्वारबीच प्रतिष्पर्धा हुने भएको छ ।

नेकपा एमालेका बागमती प्रदेश ईञ्चार्ज एवं गृहमन्त्री रामबहादुर थापा बादल र माधव नेपाल समूहका नेता डा. खिमलाल देवकोटाबीच प्रतिष्पर्धा हुने भएको हो । यद्यपी उनले आफु स्वतन्त्र उम्मेदवार भएको दावी गरेका छन् ।

वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि संयुक्त गठबन्धनले डा. देवकोटालाई उम्मेदवार बनाएका हुन् ।

उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धनका साझा उम्मेदवारका रुपमा अघि सारेका छन् ।

नेपाल निकट रहेका देवकोटाले माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडाबाट उपनिर्वाचन लड्नेछन् । भने गृहमन्त्री बादलले सूर्य चिन्हबाट उपनिर्वाचनमा भाग लिनेछन् ।

संघीयता र योजनाविज्ञ देवकोटा एमाले नेता हुन् । बागमती प्रदेशको योजना आयोगको उपाध्यक्ष भइसकेका उनी पछिल्लो समय माधवकुमार नेपाल समूह निकट छन् । उनले माओवादी केन्द्रको चुनाव चिन्हबाट उपनिर्वाचन लड्ने छन् ।

बागमती प्रदेशका स्थानीय तहमा नेकपा एमालेको बहुमत छ । एमालेले अधिकांश स्थानमा एमालेका जनप्रतिनिधि रहेका छन् । ११० सदस्यीय बागमती प्रदेशसभामा एमालेका ५७ जना सांसद रहेका छन् । उनीहरुको प्रतिव्यक्ति मतभार ४८ गणना हुन्छ । जसमध्ये ५७ सांसदको कूल २ हजार ८ सय ३६ मतभार रहेको छ ।

साथै स्थानीय तहका मेयर र उपमेयरको मतभार प्रतिव्यक्ति १८ गणना हुनेछ । अर्थात एक जना मेयर वा उपमेयर बराबर १८ मतभार गणना हुन्छ । स्थानीय तहमा १३३ जना जनप्रतिनिधि एमालेका छन् । उनीहरुको मतभार २३९४ हुन्छ ।

यसरी प्रदेशसभा र स्थानीय तहबाट एमालेको कूल मत ५१३० रहेको छ । तर, माधव नेपाल समूहले आफू निकट नेतालाई उम्मेद्वार बनाएपछि एमाले धर्मसंकटमा परेको छ ।

नेपाल समूहबाट प्रदेशसभामा २२ जना सांसद र स्थानीय तहमा करिब ३५/३६ को हाराहारीमा मेयर र उपमेयर रहेका छन् । यदी नेपाल समूहका सांसद, मेयर र उपमेयरले फ्लोर क्रस गरेको खण्डमा १७ सय ४ मत खिमलालको पक्षमा जाने देखिएको छ । भने बादलले एमालेबाट कूल ३४२६ मत मात्रै पाउनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षका जनप्रतिनिधिलाई ह्वीप लगाएर भएपनि बादलको पक्षमा भोट हाल्न लगाउने तयारी गरेका छन् । त्यसका लागि एमालेका शीर्ष नेताहरुले सबैसँग संवाद अगाडि बढाएका छन् ।

यस्तै नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग कूल ४ हजार ४४ मत रहेको छ । विवेकशील सझाको १४४, नेपाल मजदुर किसान पार्टीको १३२ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २३२ मतभार रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको