August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

अभिनेत्री ऋचा शर्मा आमा बन्दै

काठमाडौं– अभिनेत्री ऋचा शर्माले आमा सम्झेर आफू आमा बन्न लागेको जानकारी दिएकी छिन्। एक वर्षअघि आमा गुमाएकी उनले नयाँ वर्षको अवसर पारेर आफू आमा बन्न लागेको बताएकी हुन्।

आमा सम्झिँदै उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउछस्। आज त्यही कुरा स्मरणमा आइरहेको छ। एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन।’ गर्भमा सन्तान हुर्किरहेको विषयलाई ऋचा दम्पत्तिले आंगनमा नयाँ बिरुवा रोपेको तस्विर सहित सार्वजनिक गरेका हुन्।

घरको आँगनमा सजीवनके बिरुवा रोपेको ऋचाले बताएकी छिन्। ‘प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दै छौं,’ उनले लेखेकी छिन्, ‘ यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधैं बनिरहोस् भन्ने तपाईंहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु।’

आमा बन्दै गरेको अनुभूति उनले सामाजिक सञ्जालमा यसरी पोखेकी छिन्, ‘आज आफ्नो धड्कन भन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभास भइरहेको छ।आज तपाईंहरु माझ यो ख़ुशी बाँड्न पाउँदा सम्पूर्ण महसुस भइरहेको छ।’

एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सौभाग्यको कुरा रहेकको उनको अनुभूति छ। अन्त्यमा पनि आफ्नी दिवंगत आमालाई सम्झिँदै उल्लेख गरेकी छिन्, ‘मेरी आमा पनि पर क्षितिज बाट भन्दै हुनुहुन्छ होला– आज छोरी ठूली भई।’

शीर्ष समाचार

धेरै पढिएको