August 13, 2022, Saturday
२०७९ श्रावण २८, शनिबार
KN hd tv

एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घना बस्ती भएका शहरका विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले काठमाडौँ उपत्यकासहित बाक्लो बस्ती भएका शहरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेको हो ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट कम उमेर समूहमा बढी देखिएको बताए । मन्त्री त्रिपाठीले चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको जानकारी दिए ।

उनका अनुसार यसबारे कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर यसबारे निर्णय हुन बाँकी छ ।

उनले १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई कोरोनाको भ्याक्सिन नभएकाले जोखिम बढेको बताएका छन् । मन्त्री त्रिपाठीले संक्रमण डरलाग्दो अवस्थामा पुगेको बताएका छन् ।

‘संक्रमण डरलाग्दो अवस्थामा यो मानेमा छ कि अहिलेसम्म जतिपनि भ्याक्सिन बनेका छन् १८ वर्षमाथिका लागि मात्रै बनेको छ, बालबालिकालाई जोगाउन चुनौती थपिएको छ’, उनले भने ।

शीर्ष समाचार

धेरै पढिएको