August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

लुटेरा समूहको गोली लागेर घाइते भएका सुनचाँदी व्यवसायीको मृत्यु

काठमाडौं- अपरिचित समूहको गोली लागेर घाइते भएका सिरहाका एक सुनचाँदी व्यवसायीको मृत्यु भएको छ।

लहान नगरपालिका-२३ गाढिया चोकमा सुन चाँदी पसल सञ्‍चालन गरी बस्‍ने सोही नगरपालिका-२२ सिसवनीका ४५ वर्षीय प्रदीप मिझारको आइतबार बिहान मृत्यु भएको हो। प्रदीपको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

अपरिचित ६/७ जनाको समूहले सुनचाँदी पसल गरी बसेको घरको ढोका फलामको हम्मर र छिनोले फोडी चोरी तथा लुटपाट गरेका थिए। लुटपाट गर्न थालेपछि प्रतिकार गर्दा लुटेराको समूहले प्रदीपलाई गोली प्रहार गरेको थियो भने प्रदीपकै श्रीमती ३५ वर्षीया अनिताकुमारी दुलाललाई खुकुरी प्रहार गरेका थिए।

उनीहरुलाई घाइते बनाएर लुटेरा समूहले तीन तोला सुन, सात किलो चाँदी, महिलाले खुट्टामा लगाउने दुई जोर (६० तोला) चाँदीको काडा र नगद दुई लाख ५० हजार रुपैयाँ लुटपाट गरेका थिए।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले घटनामा संलग्‍न लहान नगरपालिका-७ बस्‍ने २६ वर्षीय रामकृष्ण चौधरीलाई घटनास्थलबाट भाग्दै गरेको अवस्थामा एक थान फलामको छिनोसहित पक्राउ गरेको थियो। सोही नगरपालिका-२३ गढिया बस्‍ने २९ वर्षीय सूर्य सहनीलाई समेत पक्राउ गरिएको सिरहा प्रहरीले जानकारी दिएको छ।

शीर्ष समाचार

धेरै पढिएको