मन्त्रिपरिषद्को बैठक बस्दै बालुवाटारमा
काठमाडौं – नेपाल कम्युनिष्ट पाटी (नेकपा)भित्रको कलह वारपारको स्थितिमा पुगेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान दुवै पक्षबीच भएको छलफलपछि नेकपा अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए।
राष्ट्रपतिसँग परामर्श गरेर फर्किएका ओलीले अहिले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। स्थायी समितिको बैठकबीच नै क्याबिनेट बोलाइनु र राष्ट्रपतिसँग प्रधानमन्त्री अचानक पुगेर परामर्श गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ।
बिहीबार बिहान पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न ओली समूहका नेताहरु खुमलटार पुगेका थिए। छलफलमा ओली निकटका ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र योगेश भट्टराई सहभागी थिए।स्रोतका अनुसार भेटमा प्रचण्डले आफूलाई भन्दा पनि ओलीलाई सम्झाउन र पहिले भएका सहमति कार्यान्वयनका लागि मनाउन सुझाव दिएका थिए।
स्थायी समितिको मंगलबारको बैठकमा ओलीको राजीनामा माग्दै चर्काचर्कीभएपछि आन्तरिक कलहले गम्भीर मोड लिएको हो। बुधबार दिनभर दुवै पक्षमा आआफ्नो गुट छलफल र रणनीतिमा व्यस्त रहे।
पार्टीभित्रैबाट चर्को आलोचनासहित राजीनामा माग भएपछि तनावमा रहेका प्रधानमन्त्री ओली बचाउको रणनीतिसहित बुधबारदेखि व्यक्तिगत र समूहगत छलफललाई तीव्र बनाएका छन्। ओलीले बुधबार दिनभर सरकारका मन्त्रीहरू र आफू निकटका स्थायी कमिटी सदस्यहरूलाई परामर्शका लागि बालुवाटार बोलाएर परामर्श गरेका थिए।
ओलीको राजीनामा मागिसकेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम पनि रणनीतिक छलफलमा व्यस्त छन्। बुधबार बेलुका झम्सीखेलमा प्रचण्डले बोलाएको बैठकमा ४४ सदस्यीय स्थायी समितिका ३० जना सदस्यहरू सहभागी भएका थिए। पार्टीभित्र ओली अल्पमतमा देखिएका छन्। ९ सदस्यीय सचिवालयमा ६ जना र ४४ सदस्यीय स्थायी समितिका ३० जना ओली विपक्षमा देखिएका छन्।
पार्टीभित्रैबाट आफू घेराबन्दीमा परेको बताउँदै आएका ओलीको सम्भावित कदम के होला भनेर अनेक अनुमान र आशंका गरिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री राजीनामा दिने मुडमा छैनन् ।
प्रतिकृया दिनुहोस्