April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
KN hd tv

भारत कोरोना महामारीको दोस्रो लहरमा लपेटियो

भारत- दक्षिणी छिमेकी देश भारत कोरोना महामारीको दोस्रो लहरमा लपेटिएको छ।

अति प्रभावित महाराष्ट्रमा राज्य सरकारले कडा लकडाउन कार्यान्वयन गराएको छ। सोमबार बिहान ७ बजेदेखि शुक्रबार बेलुकी ८ बजेसम्म त्यहाँ एकसाथ ५ जनाभन्दा धेरै मानिसलाई हिँडडुल गर्न रोक लगाइँदैछ।

प्रतिबन्ध आजैदेखि लागू गरिँदैछ। यो प्रतिबन्ध अप्रिल ३० तारिखसम्म जारी रहनेछ। प्रतिबन्ध लगाइएका बेला अत्यावश्यक सेवा, बस, रेल र ट्याक्सी चलाउन भने इजाजत दिइएको छ।

उद्यान, सैलुन, धार्मिक स्थल, व्यायामशाला, खेलकुद, सिनेमाघर र नाट्यशाला पनि बन्द गरिँदैछ। राजनीतिक र धार्मिक समारोहहरूमा रोक लगाइएको छ। रेष्टुराँ र बारहरूबाट पार्सल सेवामात्रै प्रवाह गर्न अनुमति दिइएको छ। 

महाराष्ट्रमा कोरोनाबाट अहिलेसम्म ५५ हजार ८७८ जनाको ज्यान गइसकेको छ। त्यहाँ आइतबारमात्र ५७ हजार ७४ जना नयाँ संक्रमित भेटिएका थिए। 

देशका विभिन्न राज्य सरकारले मानवीय गतिविधिमा प्रतिबन्ध थप्दै लगेका छन्। 

राजस्थान सरकारले पनि आवतजावत गर्नेहरूले आरडीटी र पीसीआर टेस्ट गर्नुपर्ने नियमलाई बाध्यकारी बनाइदिएको छ। विद्यालयमा एकदेखि नौ कक्षा सम्मको पठनपाठन रोकिदिएको छ। 

आवश्यक परे कफ्र्यू लगाउन पनि जिल्ला अधिकारीहरूलाई अधिकार प्रत्यायोजन गरिएको छ। बेलुकी ८ बजेभन्दा पहिले या बिहान ६ बजेभन्दा पछि कफ्र्यू लगाउन भने सरकारी अनुमति आवश्यक पर्ने भनिएको छ। 

हरियाणाका गृह राज्यमन्त्री अनिल विजले आजदेखि सो राज्यमा मानिसहरू एकत्रित हुन नदिनेगरी प्रतिबन्ध घोषणा गरेका छन्। 

एकैदिन लाखभन्दा धेरै संक्रमित

यतिखेर भारतमा कोरोना भाइरसबाट मानिसहरू संक्रमित हुने दर तीव्र छ।

पछिल्लो २४ घण्टा यस वर्षकै सबैभन्दा बढी संक्रमित भेटिएको निश्चित अवधि बनेको छ।

त्यहाँ एक दिनमै एक लाख ३ हजार ७९३ संक्रमित भेटिएका हुन्। अघिल्लो दिन ९३ हजार २४९ जना संक्रमित भेटिएका थिए।

यस्तै‚ सोही अवधिमा ४७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अघिल्लो दिन ५१३ जनाको मृत्यु भएको थियो।



शीर्ष समाचार

धेरै पढिएको