April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
KN hd tv

विप्लवसँग शास्त्रार्थमा बस्न प्रचण्ड तयार

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्द विप्लवसँग शास्त्रार्थमा बस्न आफू तयार भएको बताएका छन् ।

बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा जनयुद्धका सहिद भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा अध्यक्ष प्रचण्डले विप्लवसँग शास्त्रार्थ गर्न आफू तयार भएको बताएका छन् ।

विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्माले प्रचण्डलाई शास्त्रास्र्थ गर्न आग्रह गरेका थिए । उनले शास्त्रार्थ गर्दा जसले जित्छ त्यसलाई मान्न प्रस्ताव गरेका थिए । प्रचण्डले विप्लवले संसदका लागि मात्रै लड्यो भन्ने तर्क गरेको भन्दै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, उत्पीडित वर्गको अधिकारलाई निरंकुश बुटले कुल्चन खाज्नेविरुद्धको विद्रोह रहेको बताए ।

‘अहिले पनि संसदका लागि मात्रै लड्यो भन्ने तर्क तपाईंहरुले गर्नुभयो । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, उत्पीडित वर्गको जेजति अधिकार प्राप्त भएको छ त्यसलाई निरंकुश बुटले कुल्चन खाज्नेविरुद्धको विद्रोहका रुपमा किन मान्नुहुन्न ?’, प्रचण्डले भने, ‘म शास्त्रार्थका लागि तयार छु, यत्ति भन्न चाहन्छु अहिले । कति दिन बस्नु पर्ने हो, इमान्दारिकताका साथ बसौँ । तपाईंहरुलाई लाग्या होला सबै मैले गुमाइदियो भन्ने । तपाईंहरुले जित्नु भयो भने म पछि लाग्छु ।’

उनले प्रतिक्रियावादी देशी विदेशीले नेपालको राष्ट्रिय स्वाधिनतालाई, नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई फेरि एकचोटि जर्बजस्ती कुल्चिने दुस्साहस भइराखेको बताएका छन् ।

उनले भने, ‘म चिन्तित छु । म आक्रोशित पनि छु । म आफैँ आन्दोलित पनि छु । साथीहरू बिचार गर्नुहोला । हामीले राजनीतिक हिसाबले सामन्तीतन्त्रमाथि विजय हासिल गरेकै हो । तर, राष्ट्रिय स्वधिनताको लडाइँ पूर्ण भएको छैन । हामीले अझै लड्न बाँकी छ भनेको त्यहीँनिर हो ।’

अध्यक्ष प्रचण्डले आफूभित्र आवेग र आक्रोश रहेको र नेपालको स्वतन्त्रता र जनताको आत्मनिर्णयको अधिकारमाथि कसैले धावा बोले नेपाली जनतालाई बिद्रोह गर्ने अधिकार हुने चेतावनीसमेत दिए ।

‘प्रतिक्रियावादी तत्त्वहरू यही माओवादी आन्दोलनले ल्याएका उपलब्धिलाई के गरी ध्वस्त पार्न सकिएला र माओवादी आन्दोलनले तयार गरेको नेतृत्वको टिम, त्यसमध्ये एक नम्बरमा अहिले पनि प्रचण्ड नै छ तपाईहरूलाई मन परे पनि, मन नपरे पनि । त्यो प्रचण्डलाई के गरी निस्तेज पार्ने होला भन्नेमा नै सबैको ध्यान । भ्रममा कोही नरहनुहोला । मैले भने नि, म भित्र फेरी एकचोटी आवेग र आक्रोश छ,’ उनले भने, ’नेपालको स्वतन्त्रतामाथि, नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि कसैले धावा बोल्छन् भने नेपाली जनतालाई फेरि एकचोटी बिद्रोह गर्ने अधिकार हुन्छ ।’


शीर्ष समाचार

धेरै पढिएको