April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
KN hd tv

पत्र मार्फत निर्वाचन आयोगले एमाले र माओवादीलाई भन्यो- ‘एकता गर्न आउनुस’

काठमाडाैं–नेकपा नाम विवादमा सर्वोच्च अदालतको फैसलापछि पदाधिकारी बैठक बसेर निर्वाचन आयोगले एकताका लागि आउन एमाले र माओवादीलाई पत्र लेख्ने भएको छ।  सर्वोच्च अदालतको पछिल्लो फैसला अनुसार एकता गर्नका लागि आउन पत्र लेख्ने निर्णय मंगलवारकाे पदाधिकारी बैठकले गर्ने एक आयुक्तले बताए।

राजनीतिक दललाई फैसला जानकारी दिने सम्बन्धमा छलफलका लागि बैठक बोलाइएको र ३ बजेसम्म आयोगले चार वटा राजनीतिक दललाई पत्र लेख्ने ती आयुक्तले बताए। नेपाल कम्युनिस्ट पार्टीको नाम विवादमा सर्वोच्चले गत आइतबार ऋषिराम कट्टेलको पक्षमा फैसला गरेपछि आयोगले फैसलाबारे पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई जानकारी दिन पत्र पठाउन लागेको हो।

सर्वोच्चले फैसलामा एकताका लागि उनीहरुलाई बोलाउन आयोगको नाममा परमादेशको आदेश जारी गरेको थियो। आयोगका एक पदाधिकारीका अनुसार नेकपा खारेज भएकाले एमाले र माओवादीलाई एकताका लागि पत्र पठाइनेछ। २०७५ जेठ १३ गतेको अवस्थाबाट फेरि एकताका लागि नयाँ नामसहित आउन पत्र लेख्न लागेको हो।

निश्चित समय दिएर एकताका लागि आह्वान गर्ने तथा एकताका लागि नगए एमाले र माओवादी नै कायम हुने आयोगले जनाएको छ। पूर्वएमाले र पूर्वमाओवादी ब्युँतिने भएपछि आयोगमा दर्ता भएका एमाले र माओवादीको व्यवस्थापनबारे पनि पदाधिकारी वैठकमा छलफल हुने ती आयुक्तले बताए।

सर्वोच्चले कट्टेललाई वैधानिकता दिँदा माओवादी र एमाले कायम हुने भनेकाले पछि दर्ता भएका दलबारे के गर्ने भन्ने विषयसमेत आयोगले टुङ्गोमा पुर्‍याउनुपर्ने भएकाले यसलाई पनि छलफलमा राखिएको ती आयुक्तले बताए।

शीर्ष समाचार

धेरै पढिएको