August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

उद्घाटन र शिलान्यासमा प्रधानमन्त्री ओलीको दैनिकी

काठमाडौं- २०७७ पुस ५ मा प्रतिनिधि सभा विघटनको सिफारिस गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको दैनिकीमा एउटा कार्यसूची थपियो, विकास आयोजनाको शिलान्यास र उद्घाटन। प्रधानमन्त्री ओलीले यो बीचमा दैनिकजसो केही न केही विकास आयोजनाको उद्घाटन वा शिलान्यास गरिरहेका छन्। 

प्रधानमन्त्री ओलीले यो बीचमा दर्जन बढी आयोजनाको शिलान्यास र उद्घाटन गरिसकेका छन्। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं पानी आएपछि फ्लस बटन थिचेर उनले उद्घाटन गरे। उनले यो खुशीयालीमा लड्डु खान र घरमा दिपावली गर्नसमेत आग्रह गरे।

प्रधानमन्त्रीले उद्घाटन वा शिलान्यास गरेका अधिकांश आयोजना न सम्पन्न भएका छन् न पूर्वतयारी सकिएका छन्। ओलीले उद्घाटन गरेका आयोजना सम्पन्न नै भएका छैनन् भने शिलान्यास गरेका आयोजना कार्यान्वयनको पूर्वशर्त नै पालना भएका छैनन्। 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ तयारी पूरा नभएका आयोजना शिलान्यास गर्नु र सम्पन्न नभएका आयोजना उद्घाटन गर्नुलाई विकृतिको संज्ञा दिन्छन्। ‘सरकार प्रमुखले नै विधि मिच्नु ठिक होइन,’ श्रेष्ठले भने, ‘आयोजना कार्यान्वयनपूर्व गर्नुपर्ने तयारी गरिसकेपछि मात्रै शिलान्यास गर्ने हो। १० वर्षपछि सुरु नहुने आयोजना आज शिलान्यास गर्नु ठिक काम होइन।’

प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले पहिलेदेखिकै तयारीअनुसार अहिले शिलान्यास गरिएको बताए। उनले यो सबै देशको समृद्धिका लागि गरिएको भन्दै विरोध गर्नुको अर्थ नभएको बताए। ‘हामीले यी कामलाई हल्का रूपमा लिनु हुँदैन,’ उनले भने, ‘देशलाई समृद्ध बनाउन यी सबै काम भइरहेका छन्।’ 

 

शीर्ष समाचार

धेरै पढिएको