नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको दाबी
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको दाबी गरेका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग तीन बुँदे सहमति पछि आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन्।
उनले यो फोर्स वा क्रमल्याडिङ नभएको भन्दै सेफ ल्याडिङ भएको दाबी गरे। ‘नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। अब नेपालमा हिंसात्मक द्वन्द्व छैन। अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरिरहेको छैन। अर्थात् नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ। आजको कामको ठूलो उपलब्धि त्यही हो, नेपालमा हिंसात्मक द्वन्द्व छैन र शान्ति छ’, प्रधानमन्त्रीले भने।
उनले नेपाली जनताले शान्ति खोजेको बताए। उनले समृद्ध नेपाल, सुखी नेपाली बनाउनुपर्ने भएकाले शान्ति र लोकतन्त्र चाहिने बताए।
‘राष्ट्रियता र स्वाधिनताको रक्षा हो। राष्ट्रिय हितको रक्षा र लोकतन्त्रको सुदृढीकरण जनताले चाहेका छन्’, ओलीले भने।
भ्रष्टाचारको अन्त्य र विकासको कार्य गतिशिल रुपमा होस् भन्न जनताको चाहाना रहेको उनले बताए।
प्रतिकृया दिनुहोस्