April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
KN hd tv

प्रधानमन्त्री ओली आज सर्वोच्च अदालतमा उपस्थित हुँदै

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालतमा उपस्थित हुँदैछन्। अदालतको अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री ओली आफैं अदालतमा उपस्थित हुन लागेका हुन्।

सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई सात दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन भनेको थियो। प्रधानमन्त्री ओलीले फागुन २ गते अदालतको पत्र बुझेका थिए। न्यायाधीश मनोज शर्माको एकल इजलासले माघ १५ गते  प्रधानमन्त्री ओलीको नाममा लिखित जवाफसहित सात दिनभित्र आफैं उपस्थित हुन आदेश गरेको थियो।

वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेको निवेदनमा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको थियो। प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दामा पटक-पटक अभिव्यक्ति दिएको तथा कानुन व्यवसायीहरूलाई होच्चाएको र इजलासमा भइरहेको बहसलाई तमासा भनि टिप्पणी गरेको भन्दै अवहेलना निवेदन दायर भएको थियो।

ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएको टिप्पणी गरेका थिए। ९४ वर्षीय वरिष्ठ अधिवक्तालाई लक्षित गर्दै गरेको टिप्पणीले समग्र न्यायपालिकामाथि अवहेलना गरेको जिकिर गर्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपाने रिट निवेदन दर्ता गराएका थिए।

शीर्ष समाचार

धेरै पढिएको